१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भारतीय सीमामा तारबार लगाउन एनआरएनएले पैसाँ संकलन गर्छ: अध्यक्ष कुमार पन्त

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७७, बुधबार १८:२८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले भारत र नेपाल बीचको सीमामा तारबार लगाएर भए पनि देशकोे सीमा रक्षा गर्नु पर्ने वताएका छन् । पन्तले नेपाल पत्रकार महासंघ युरोप शाखाले बुधवार आयोजना गरेको अनलाइन भिडियो अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उक्त विचार राखेका हुन् ।

पन्तले भने ‘हामीले भारतीय दादागिरीका बिरुद्धमा वक्तव्य मार्फत संस्थाको पोजिसन स्पष्ट पारेका छौं । म व्यक्तिगत रुपमा नेपाल र भारतबीचको सीमा क्षेत्रमा तारबार लगाएर भए पनि सिमा रक्षा गर्नु पर्छ भन्ने मान्यता राख्छु’ ।

उनले ‘भारतीय हेपाहा प्रवृति बिरुद्ध सबै नेपालीहरु जस्तै गैरआवासीय नेपाली संघ पनि एक भएर भारत बिरुद्ध लड्न तयार भएको बताए’ ।

पन्तले भारतबिरुद्ध नेपाल सरकारसँग मिलेर संघले काम गर्ने प्रतिबद्धता जाहेर गर्दै सरकारले चाहेमा संघ भारतीय सीमामा तारबार लगाउन आर्थिक संकलन गर्न समेत तयार रहेको बताए ।

यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली भूमि अतिक्रमण गरी भारतले सडक मार्ग निर्माण गरेकोप्रति भत्सर्ना गरेको थियो । संघका तर्फबाट अध्यक्ष कुमार पन्तले सोमवार एक विज्ञप्ति जारी गर्दै भारतले एकतर्फी रुपमा नेपाली भू-भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय पछिल्लो असंवेदनशील गतिविधीको भत्सर्ना गरेका हुन् ।

भारतले नेपाली भूभागमा सडक मार्ग निर्माण गरेकोप्रति विरोध गर्न संघका सबै राष्ट्रिय समितिहरु परिचालित हुने भएका छन् । संघका महासचिव डा. हेम राज शर्माले सोमवार नै सबै राष्ट्रिय समितिलाई पत्राचार गर्दै आआफ्ना देशमा भएका भारतीय दुतावासमा गएर भारतले एकतर्फी रुपमा नेपाली भू-भाग अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेपको निन्दा गर्दै विरोधपत्र बुझाउन आग्रह गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन लगायत संघका युरोप क्षेत्रीय पदाधिकारीहरुको उपस्थिती थियो ।