७ बैशाख २०८१, शुक्रबार
Follow Us

संशोधन प्रस्ताव फिर्ता नलिएसम्म चल्न नदिने विपक्षी दलको अडान

नेपालब्रिटेन डट कम्
१९ मंसिर २०७३, आईतवार ११:५५

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेसहित पाँच दलले आज पनि संसद बैठकमा अवरोध पु¥याएका छन् । एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा र नेपाः राष्ट्रिय पार्टीले संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै संसद चल्न नदिएका हुन् । बैठकको सुरुमा बोल्दै नेमकिपाकी सांसद अनुराधा थापामगरले संविधान संशोधन विधेयक असंबैधानिक र राष्ट्रघाती रहेको दावी गर्दै फिर्ता नलिएसम्म संसदको काम-कारवाही अगाडि बढाउन नदिने घोषणा गरेकी थिइन् ।
सांसद थापामगरले भारतले संविधान संशोधनमा दुई तिहाई पुरु¥याइदिनकै लागि राप्रपा र राप्रपा नेपालको एकीकरण गराएको र एमाले फुटाउनसमेत षड्यन्त्र गरिरहेको दावी गरेपछि राप्रपाका सांसदले आपत्ति जनाएका थिए । उनीहरुले त्यो भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखसँग माग गरेपछि केहीबेर हो–हल्ला भएको थियो । सांसद थापामगरको अभिव्यक्ति लगत्तै एमाले, मालेलगायत दलका सांसदले आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । सभामुख ओनसरी घर्तीले संविधान संशोधन विधेयक कार्यसूचिमा नरहेको भन्दै पटक–पटक बस्न आग्रह गरेपनि उनीहरुले इन्कार गरेपछि बैठक मंसिर २२ गते बुधबारसम्मका लागि स्थगित गरेकी छन् । विपक्षी दलले विधेयकको विरोधमा विहीवार र शुक्रबार पनि संसद बैठकमा अबरोध गरेका थिए । जसका कारण अख्तिायारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव माथिको छलफल प्रभावित भइरहेको छ ।