६ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्व ब्रिटिस–गोर्खा सैनिक राईको ‘गोर्खा गन्स’ प्रकाशित

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७७, बिहीबार ०५:२७

चर्चित साहित्यकार तथा युद्धसाहित्यका एक अभियन्ता गणेश राईको फोकल्यान्ड युद्धसम्बन्धि संस्मरणात्मक कृति ‘गोर्खा गन्स’ बेलायतबाट प्रकाशित गरिएको छ । अवकाशप्राप्त ब्रिटिस–गोेर्खा सैनिक राईको उक्त कृति बेलायतको प्रतिष्ठित प्रकाशनगृह द कनराड प्रेसबाट प्रकाशित गरिएको हो ।

‘राईफलले फलाकेको जिन्दगी’ कविता संग्रहका साथै ‘राईफलको नालबाट जीवन नियाल्दा,’ ‘युद्ध एम्बुसमा राईफलको संगीत’, ‘राईफलको मूच्र्छना’ र ‘फोकल्यान्ड जर्नल’जस्ता आख्यानात्मक कृतिका स्रष्टा राईको ‘गोर्खा गन्स’ उनको ‘फोकल्यान्ड जर्नल’को अंग्रेजी अनुवाद हो ।

कवि, समालोचक तथा अनुवादक सुरेश हाचेकालीद्वारा अनूदित ‘गोर्खा गन्स’मा फोकल्यान्ड युद्धको यथार्थ चित्रण गरिएको लेखले बताएका छन् । उक्त कृतिबाट गोर्खालीहरूको सौर्य, बहादुरी, त्याग र बलिदानको सत्यतथ्य इतिहासको पुनर्लेखन गर्नमा महत्वपूर्ण मद्दत पुग्ने देखिन्छ । यसका साथै फोकल्यान्ड युद्धका बेला गोर्खाली सैनिकहरूमाथि थोपारिएका अनेक खाले भ्रामक अफवाहको निर्मलीकरण गर्नमा समेत उक्त कृति सफल रहेको छ ।

फोकल्यान्ड युद्धका बारेमा अंग्रेजी लेखकका अनेकौं पुस्तकहरू प्रकाशित भएका छन् तर स्वयं फोकल्यान्ड युद्ध लडेका गोर्खा सैनिक राईद्वारा लेखिएको उक्त कृतिले फोकल्यान्ड युद्ध र सो युद्धमा गोर्खालीहरूले निर्वाह गरेका भूमिकाका बारेमा ओझेलमा पारिएका सत्यहरूको उत्खनन् गरेको छ ।

प्रसिद्ध बेलायती अभिनेत्री जोअन्ना लुम्लेले उक्त कृतिलाई ‘एउटा युवा गोर्खा सैनिकको मष्तिस्कमा फोकल्यान्ड युद्धका समयमा चित्रित अमूल्य झलक र सैनिकहरूको साधारण तर हृदयविदारक कथा’ भएको जनाइकी छिन् ।

एक सय ७६ पृष्ठको उक्त कृति बेलायतका सबै पुस्तक पसलका साथै वाटरस्टोन्स, बुक डिपोजिटरी र अमाजन आदिमा उपलब्ध छ ।