८ बैशाख २०८१, शनिबार
Follow Us

पश्चिमाञ्चलका पहाडी जिल्ला पाँचौ दिन पनि बन्द

नेपालब्रिटेन डट कम्
१९ मंसिर २०७३, आईतवार १२:०४

काठमाडौं । सरकारले पाँच नम्बर प्रदेश विभाजन गर्ने प्रस्तावसहित संविधान संशोधन विधेयक ल्याएपछि आज पाँचौ दिनपनि रुपन्देही बन्द छ । संयुक्त संघर्ष समितिको आह्वानमा जारी अनिश्चितकालीन बन्दका कारण रुपन्देहीका अधिकांश क्षेत्र सुनसान छन् । बन्दको घोषणासहित आन्दोलनमा उत्रिएका विद्यार्थी संगठन, संयुक्त संघर्ष समिति प्रदेश नम्बर ५ लगायतको अगुवाइमा राष्ट्रिय झन्डासहित चोक–चोकमा प्रदर्शन भइरहेको छ । बन्दकर्ताको अवरोधका कारण बुटवल भएर गुड्ने र बुटवल भएर छुट्ने पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिण सिद्धार्थ राजमार्गमा सवारीका साधन चलेका छैनन् । भित्री सडकमा पनि सवारी ठप्प छन् । बुटवलको बजार, औद्योगिक प्रतिष्ठान र कलकारखाना समेत बन्द छन् । बन्दले बुटवलसहित रुपन्देहीकै जनजीवन प्रभावित भएको छ । बुटवलको राजमार्ग चौराह, मिलनचोक बसपार्क, पुष्पलाल पार्क लगायतका क्षेत्रमा विद्यार्थी, व्यवसायी, नागरिक अगुवादेखि सर्वसाधारण स्वःस्फूर्त सडकमा उत्रिएका छन् । पाल्पा गुल्मी, प्यूठान, रोल्पालगायत जिल्ला आज पनि बन्द छन् । अर्घाखाँचीको अनिश्चितकालिन बन्द भने दिउँसो तीन बजेबाट खुलेको छ । भोलि सन्धिखर्कमा हुने जनप्रदर्शनका लागि भन्दै दिउँसो तीन बजेवाट भोलि विहान ११ बजेसम्मका लागि बन्द फिर्ता लिइएको हो ।