१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रवासी नेपालीका समस्या र समाधानका उपायबारे छलफल

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०७७, बिहीबार १६:०६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवास समन्वय कमिटीले प्रवासी नेपालीका समस्या र समाधानका उपायबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायसँग छलफल गरेको छ ।

श्रव्यदृश्यका माध्यमबाट आज भएको छलफलमा प्रवास समन्वय कमिटीका संयोजक युवराज चौलागाईंले भारत र तेस्रो मुलुकमा रहेका नेपालीका समस्या एवं उद्धार प्रक्रियाका बारेमा मन्त्रीद्वयको ध्यानाकर्षण गराउनुभएको थियो । बैठकपछि कुरा गर्दै संयोजक चौलागाईंले यस अघिका छलफलभन्दा आजको बैठक बढी प्रभावकारी, उद्देश्यमुलक र व्यावहारिक भएकाले अलपत्र परेका नेपालीको छिट्टै उद्धार हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारले आन्तरिक तथा बाह्य प्रयासलाई एकैसाथ अगाडि बढाएको जानकारी प्राप्त भयो, सरकारले विदेशमा रहेका नेपालीको धैर्यता र सावधानीपूर्वक उद्धार गर्नेमा हामी विश्वस्त छौँ ।” संयोजक चौलागाईंले प्रवासी नेपालीको उद्धारमा सरकार उदासीन बन्न नहुनेमा प्रवास कमिटीका तर्फबाट स्पष्ट दृष्टिकोण राखिएको जानकारी दिनुभयो ।

छलफलमा सहभागी श्रममन्त्री यादवले अन्यन्त्र भन्दा भारतमा रहेका नेपालीका समस्याले बढी पिरोलेकाले उनीहरुको उद्धारका बारेमा केही न केही पहल गरिने बताउनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारत र तेस्रो मुलुकका नेपालीलाई दुई भागमा विभाजन गरी फरकफरक कार्ययोजनाका साथ सरकार काम गरिरहेको बताउनुभयो । उहाँले उद्धारका लागि योजना बनिरहेका उल्लेख गर्दै खाडी मुलुकबाट केही पीडितलाई तत्कालै उद्धार गर्नेबारे सरकारले प्रयास अगाडि बढाएको जानकारी दिनुभयो ।

यस्तै साइप्रसलगायत केही मुलुकबाट विद्यार्थीको उद्धार गर्नेबारेमा पनि संवाद भइरहेको उहाँले जानकारी दिनुभयो । उक्त छलफलमा नेकपा प्रवास समन्वय कमिटीका सहइन्चार्ज लक्ष्मण पन्त, सचिव श्रीप्रसाद साहलगायत सहभागी हुनुहुन्थ्यो । यसैबीच कोरोनाको कहर बढ्दै जाँदा भारतबाट करिब एक लाख नेपाली स्वदेश फर्कन आतुर रहेका छन् भने खाडीलगायत देशबाट झण्डै १० लाख नेपाली फर्कन सक्ने आँकलन गरिएको छ ।