१२ बैशाख २०८१, बुधबार
Follow Us

मुख्य नाकामा सेना परिचालन गर्ने तयारी

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७७, शुक्रबार ०५:१२

काठमाडौं । कोरोना भाइरसको महामारी भयावह बन्ने खतरा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली देखि सरकारका उच्च अधिकारीसम्म पुर्याइसकेका छन् । फाट्टफुट्ट बढिरहेको कोरोना संक्रमण समुदायमा पनि व्यापक बनेको छ । विदेशबाट फर्किएकामा देखिने गरेको संक्रमण समुदायमा पनि देखिनथालेपछि सरकार सचेत भएको छ ।

लकडाउन निकै कडा बनाइएको छ । १ जेठबाट सबै पास रद्द गरेर कडाई गरिएको छ । यसअघि नाका नाकामा खटिएका प्रहरीलाई भ्याइ नभ्याई भएको छ । बस्तीमा शंकास्पद कोरोना संक्रमितलाई खोज्न जाने देखि लुकेकालाई निकाल्ने सम्ममा प्रहरी व्यस्त हुनुपरेको छ । सीमामा कडाई गर्न सशस्त्रको ठुलो संख्या खटिएको छ । यसरी सुरक्षाकर्मी अपुग भइसकेको रिपोर्ट गृह देखि प्रधानमन्त्री कार्यालसम्म पुगेको छ ।

जनशक्ति पुगेर भनेर रिपोर्ट पुगेको पुग्यै छ । नाकामा प्रहरीलाई निकै कठिनाई भएको छ । कतिपय ठाउँमा प्रहरीलाई अटेर गर्नेहरु पनि देखिएका छन् । यसकारण सरकार गम्भीर निर्णय गर्ने तयारीमा पुगेको छ ।

काठमाडौं उपत्यका कोरोना जोखिममा परेको रिपोर्ट सुरक्षा देखि स्वास्थ्यका निकायले प्रधानमन्त्रीलाई पुर्याइसकेका छन् । यसकारण अब सेना परिचालनको तयारी भएको छ ।

सेनाले आकस्मिक अवस्थामा स्वास्थ्य सामाग्री ल्याउनेलगायतको काम गरिरहेको छ । उसको आन्तरिक तयारी पनि भएकै देखिन्छ । सेनालाई सम्भावित जोखिमसँग लड्नका लागि तयार हुन भनिसकेको विश्वस्त स्रोतले बताएको छ ।

शुरुमा काठमाडौं उपत्यकाको चारतर्फका मुख्य नाकामा सेना परिचालन गर्ने तयारी भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र चार वटै सुरक्षा निकायका प्रमुखसहितको बैठकले पनि सेनासहितको सुरक्षा व्यवस्था मिलाउन सिफारिश गरिसकेका छन् । यस्तै हो भने महामारी भयावह हुन्छ भन्दै प्रमुख जिल्ला अधिकारीहरुले बसेरै यस्तो सिफारिश गरे ।