१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापा छोड्न स्वीकृति

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७७, शुक्रबार ०५:१६

काठमाडौँ । लकडाउनका कारण झापाको दमकमा रोकिएका पूर्वराज परिवारलाई काठमाडौँ आउन गृह मन्त्रालयले स्वीकृति दिएको छ। बिहीवार जिल्ला प्रशासन कार्यालय झापाले अनुमति दिए पनि गृहले अस्वीकार गरेको थियो।

लगत्तै सामाजिक सञ्जालमा टीकाटिप्पणी हुन थालेपछि गृहले पुनः स्वीकृति दिएको हो।

‘सुरुमा हामीले स्वीकृति दिएका थियौँ। तर गृहले केही प्रक्रिया नपुगेको भनेर रद्द गरेको थियो। त्यसपछि हिजो नै प्रक्रिया मिलाएर स्वीकृति आइसकेको छ,’ जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामागरले भने।

शाहका सहयोगी फणिराज पाठकले झापाबाट गाडी छुटिसकेको जानकारी दिए।

फागुनको अन्त्यतिर भारतको सिक्किम र दार्जिलिङको भ्रमणमा निस्किएको पूर्व राजा परिवार चैत ११ बाट घोषित लकडाउनका कारण झापामा रोकिएको हो।