१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, ४४ लाख संक्रमित

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७७, शुक्रबार ०५:२९

काठमाडौँ । विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान जानेको संख्या शुक्रबार ३ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख २ हजार १ सय १५ पुगेको छ ।

कोभिड–१९ संक्रमणका कारण पहिलो पटक गत जनवरी ११ मा चीनका ६१ वर्षीय पुरुषको मृत्यु भएको थियो । अमेरिकामा भने कोरोनाका कारण फेब्रुअरी २९ मा वासिङ्टन राज्यका एक पुरुषले ज्यान गुमाएका थिए । त्यसपछि विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दो छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोभिड–१९ संक्रमितको संख्या विश्वभर ४४ लाख ३८ हजारभन्दा बढी छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म करिब १५ लाख ८६ हजार संक्रमित निको भएर घर फर्किएका छन् ।

कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा मात्र लगभग एक चौथाईभन्दा बढी अर्थात् ८५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित संख्या १४ लाख १७ हजारभन्दा बढी छ । अमेरिकामा करिब २ लाख ४६ हजार निको भएका छन् ।

अमेरिकापछि युरोपेली राष्ट्र बेलायतमा ३३ हजार ६ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने इटालीमा मृतक संख्या ३१ हजार ३ सय ६८ रहेको छ । फ्रान्समा २७ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ भने स्पेनमा २७ हजार ३ सयभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो पटक दक्षिण अमेरिकी राज्य ब्राजिलमा पनि कोभिड–१९ का कारण ज्यान जानेको संख्या तीव्र गतिमा बढिरहेको छ । शुक्रबार बिहानसम्म ब्राजिलमा लगभग १४ हजार मानिसको मृत्यु भइसकेको छ । कोरोना भाइरसको प्रकोप विश्वका लगभग सबैजसो देशमा छ । संक्रमित संख्याका आधारमा अमेरिकापछि सबैभन्दा प्रभावित रुसमा शुक्रबार बिहानसम्म २ लाख ५२ हजारभन्दा बढी संक्रमित पुष्टि भइसकेका छन् भने मृतक संख्या २ हजार ३ सय ५ पुगेको छ ।

डब्लूएचओको चेतावनी : कोरोना भाइरस कहिल्यै निर्मूल नहुन पनि सक्छ
कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने संक्रमण नियन्त्रणउन्मुख भएको बताइन्छ । चीनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ हजार २५ रहेको छ । चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३७ रहेको छ । चीनमा कोरोना संक्रमणबाट केही हप्ता यता कसैको मृत्यु भएको छैन । संक्रमण पुष्टि भएकामध्ये ७९ हजार २ सय ५६ जना निको भएका छन् ।

छिमेकी मुलुक भारतमा पनि संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । शुक्रबार बिहानसम्म भारतमा संक्रमितको ८२ हजार पुगेको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण २ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ भने करिब २८ हजार निको भएका छन् ।

नेपालमा बिहीबार साँझसम्मको तथ्यांकअनुसार २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जना निको भएका छन् । नेपालमा सुरुका पछिल्ला केही दिनयता संक्रमण तीव्र रुपमा फैलिएको छ ।

चीनले डिसेम्बर ३१ मा आफ्नो देशमा निमोनिया गराउने खालका कैयौं संक्रमित भेटिएको भन्दै विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएपछि नोवल कोरोना भाइरसबारे विश्व जानकार भएको थियो । चीनबाहिर जनवरी १३ मा पहिलोपटक थाइल्यान्डमा कोरोना संक्रमित पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो । उसले जनवरी ३० मा कोरोना भाइरसलाई विश्व महामारी घोषणा गरेका थियो भने चीनबाहिर पहिलोपटक फेब्रुअरी २ मा फिलिपिन्समा एक संक्रमितको मृत्यु भएको थियो ।