६ बैशाख २०८१, बिहीबार
Follow Us

बर्न्टओक समाजको १२ औं साधारणसभा

नेपालब्रिटेन डट कम्
१९ मंसिर २०७३, आईतवार १२:४८

बर्न्टओक नेपाली समाजको १२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ। स्थानीय टेरिटोरियल आर्मीको सभाकक्षमा भएको उक्त सभाको सभापतित्व समाजका अध्यक्ष रमेश गुरुङले गर्नुभएको थियो। सभामा समाजका महासचिव मोहनजङ्ग गुरुङले यस वर्षको कार्यप्रगति प्रतिवेदन तथा भावी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो भने कोषाध्यक्ष ज्ञान गुरुङले समाजको आयव्यय संबन्धी विवरण प्रस्तुत गर्नुभएको थियो। समाजका सदस्यहरुले व्यापक छलफल पछि ती दुबै प्रतिवेदन पारित गरेका थिए। साधारणसभाले विधानले दिएको अधिकार पयोग गर्दै श्री रमेश गुरुङले नेतृत्व गरेकेा वर्तमान कार्यसमितिको अवधि थप एक वर्ष बढाउने निर्णय पनि गरेको छ।

यसैगरी समाजको आमा समूहकी संयोजक कमला गुरुङले आफ्नो समूहको कार्यप्रगति विवरण पेश गर्नुभएको थियो। सोही भेलामा बर्न्टओकमा सन्चालन भैरहेको नेपाली कक्षाका संयोजक भोलानाथ पनेरुले नेपाली कक्षामा बालबालिकाको उत्साहजनक सहभागिता भैरहेके बताउनुभयो। त्यस्तै समाजका सदस्य बसन्त सिलवालले समाजलाई ब्रिटेनको च्यारिटी कमिशनमा दर्ता गर्दा विश्वसनीयता पनि बढने र विभिन्न कल्याणकारी कामहरु गर्न सजीलो हुने सुझाव दिनुभएको थियो।

समाजले हरेक वर्ष गृष्म याममा समर भेटघाट गर्नुकासाथै दशैंतिहारको अवसरमा रमाइलो कार्यक्रम पनि आयोजना गर्दै आएको छ। भूतपूर्व गोर्खा सैनिक परिवारकालागि बार्नेट कलेजसंगको सहकार्यमा अंगेजी भाषा कक्षा इसोल पनि सन्चालन गर्दै आएको छ।

सो अवसरमा बोल्दै समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार लक्ष्य गुरुङले बार्नेटमा आयोजना गरिने बहुसांस्कृतिक कार्यक्रमहरुमा भाग लिंदा स्थानीय नेपाली समुदायको पहिचान स्थापित हुनाकासाथै ब्रिटिश समाजमा एकीकरणकालागि पनि मदत पुग्ने बताउनुभयो। उहाँले समाजले स्थापना कालदेखि नै मर्दापर्दा एकआपसमा सहयोग आदानप्रदान गर्दै आएकोमा अब युवा तथा बालबालिकाहरुकालागि पनि विभिन्न कार्यक्रम सन्चालन गरी अघि बढनुपर्ने सुझाव दिनुभयो।

हाल नेपालमा रहनुभएका समाजका पूर्व अध्यक्ष उदयगुरुङले साधारणसभाको सफलताको कामना गर्दै शुभकामना पठाउनुभएको थियो। साधारणसभाको अन्त्यमा समाजका अध्यक्ष रमेश गुरुङले सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि समाजका सबै गतिविधिमा सकृय सहभागिताकालागि आग्रह गर्नुभएको थियो।

सभामा आमा समूहको सौजन्यमा दिवाभोजको पनि व्यवस्था गरिएको थियो।