७ बैशाख २०८१, शुक्रबार
Follow Us

कपिलवस्तुको तौलिहवामा निषेधित क्षेत्र घोषणा

नेपालब्रिटेन डट कम्
२० मंसिर २०७३, सोमबार ०६:४१

काठमाडौं । सरकारले ल्याएको प्रदेश विभाजनको प्रस्तावको विरोधमा रुपन्देही र आसपासका क्षेत्र आज छैटो दिन पनि बन्द छन् । प्रदेश टुक्राउने गरी संसदमा संबिधान संसोधन प्रस्ताव दर्ता भएपछि संयुक्त संघर्ष समितिले गरेको अनिश्चितकालीन बन्दका कारण रुपन्देहीका अधिकांश क्षेत्र सुनसान छन्। बन्दका क्रममा अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले कपिलवस्तुको सदरमुकाम तौलिहवा क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले आज बिहानदेखि लागु हुनेगरी निषेधित क्षेत्र घोषणा गरेको हो । संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि कपिलवस्तुका विभिन्न स्थानमा विरोध र समर्थनमा प्रदर्शन हुँदै आएको छ । प्रदेश टुक्राउने संविधान संशोधन प्रस्तावको विरोधमा बिभिन्न दलले आज तौलिहवामा प्रदर्शन गर्ने कार्यक्रम छ । उता बुटवलमा पनि अनिश्चितकालिन बन्दका कारण उद्योग कलकारखाना ठप्प छन् ।

बुटवल लगायतका क्षेत्रमा विद्यालय कलेज पनि चलेका छैनन् । बन्द आयोजक विहानैदेखि सडकमा उत्रेर प्रस्ताव फिर्ताको माग गर्दै प्रदर्शन गरिरहेका छन् । पूर्व पश्चिमको मध्यभाग रुपन्देही बन्द हुँदा पूर्व पश्चिम राजमार्ग हुँदै चल्ने यातायातका साधन सीमामा रोकिएका छन् । उता पाल्पा गुल्मी, प्युठान, रोल्पा लगायतका जिल्ला समेत आज पनि बन्द छन् ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आज विरोध सभा हुँदैछ । पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरु रुकुमको पूर्वी भाग, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची र पाल्पालाई चार नम्बर प्रदेशमा राखिएपछि स्थानीयले प्रदर्शन गरिरहेका छन् ।