१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोरोनाका कारण वेलायतमा मृत्यु हुने नेपालीको संख्या ६४ , १२ सय जनामा संक्रमण

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७७, सोमबार १५:०२

लण्डन । बेलायतमा कोरोना महामारीबाट प्रभावित नेपालीको विषयमा एनआरएनए यूकेले एक तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांकअनुसार अहिलेसम्म बेलायतमा कोरोनाका कारण ६४ नेपालीको निधन भएको छ ।

एनआरएनए यूकेका अनुसार बेलायतमा बस्ने जम्मा १२ सय ९८ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । तर उनीहरुमध्ये धेरैजसो अहिले निको भइसकेको बताइएको छ ।


कोरोनाको संक्रमणका कारण १ सय ४० जना नेपाली बेलायतका अस्पतालमा भर्ना भएकोमा ६४ जनाको उपचारकै क्रममा मृत्यु भएको एनआरएनए यूकेले बताएको छ ।
१५ जना नेपाली अझै पनि उपचारका लागि अस्पतालमै रहेका छन् भने बाँकी ६१ जना निको भएर घर फर्किएका छन् ।

घरमै आइसोलेसनमा बस्नेहरु जम्मा ११ सय ५८ रहेकोमा १ हजार ८५ जना निको भएका छन् । बाँकी ७३ जना अहिले पनि आइसोलेसनमा रहेका छन् ।
एनआरएनए यूककोे हेल्पलाइन र कार्यसमितिका पदाधिकारीको सहयोगमा तथ्यांक संकलन गरेको हेल्पलाइनका संयोजक एवम् एनआरएनए यूके सचिव जीत रानाभाटले बताए ।

एनआरएनए यूकेले राहत तथा सहयोग वितरणको अभियान पनि जारी राखिएको बताएको छ । अहिलेसम्म करिब ६ हजार मास्क, स्यानिटाइजर, पञ्जासहितको स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।
त्यसैगरी, हेल्पलाइनमार्फत संस्थाको सम्पर्कमा आउने १ सय ६७ विद्यार्थीमध्ये हालसम्म ४३ जना विद्यार्थीलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको, १३ जनालाई खाने तथा बस्ने व्यवस्था मिलाइएको, २७ जनालाई रोजगारी पाउनका लागि सहयोग गरिएको, १ सय ४ जनालाई परामर्श दिइएको र ११ जनालाई एनआई, हार्डसिप फण्ड लगायतको आवेदन गर्नका लागि सहायता गरिएको एनआरएनए यूकेले जनाएको छ ।