१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दलीय तिक्तता न्यूनीकरण गर्ने राष्ट्रपतिको प्रयास

नेपालब्रिटेन डट कम्
२० मंसिर २०७३, सोमबार ०७:०७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिमै अगाडि बढ्न दलहरुलाई सुझाव दिएकी छन् । संविधान संशोधन प्रस्तावका कारण सत्ता र विपक्षी दलको दूरी बढिरहेका बेला संसदमा प्रतिनिधित्व गर्ने दलका नेतालाई शीतल निवासमा आमन्त्रण गरी राष्ट्रपति भण्डारीले दलीय सहमतिमै राष्ट्रिय कार्यभार पूरा गर्ने गरी अगाडि बढ्न सुझाव दिएकी हुन् ।

२०७४ माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्नैैपर्ने संबैधानिक बाध्यता स्मरण गराउँदै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन, संशोधन र निर्वाचनका लागि दलीय एकता आवश्यक रहेको भन्दै एकमत बनाएर राष्ट्रलाई निकास दिन आग्रह गरेको छलफलपछि नेताहरुले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाललाई उधृत गर्दै नेताहरुले दिएको जानकारीअनुसार छलफलमा उनले सहमतिकै आधारमा सरकार अगाडि बढ्न तयार रहेको भन्दै आवश्यक परे सरकार संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न पनि लचिलो रहेको स्पष्ट पारेका थिए । छलफलमा आफूहरुले भने अहिलेकै प्रस्तावमा अगाडि बढ्न नसकिने भन्दै परिमार्जन गर्नुपर्नेमा जोड दिएको मधेस केन्द्रित दलका नेताको भनाइ थियो ।

संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि प्रमुख राजनीतिक दल विभाजित भएका बेला राष्ट्रपति भण्डारीले उनीहरु बीच देखिएको तिक्तता घटाउने प्रयास गरेकी हुन् । प्रमुख प्रतिपक्षी एमालेसहित संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका दलले सडक र सदनमा आन्दोलन गरिरहेको, मधेस केन्द्रित दल प्रस्तावप्रति सकारात्मक नभएको र प्रस्ताव परिमार्जनसमेत नगर्ने सत्तारुढ दलको अडानपछि राष्ट्रपति भण्डारीले राष्ट्रिय कार्यभार स्मरण गराउँदै संसदमा रहेका सबै दलसँग सामूहिक छलफल गरेकी हुन् ।