१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना नियन्त्रणमा आउन लामो समय लाग्ने डब्लुएचओको चेतावनी

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०७७, बिहीबार ०५:३६

एजेन्सी । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना भाइरसको महामारीको गति सुस्त हुने संकेत नदेखिएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक टेडरोज गेब्रेयेसोसले कोरोना भाइरसको महामारी अन्त्य हुन धेरै समय लाग्ने चेतावनी दिएका छन् ।

अमेरिकासहितका देशले लकडाउन खुकुलो बनाउन लागेका बेला डा. टेडरोजको चेतावनी आएको हो । बुधबार एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी मानिसमा संक्रमण देखिएपछि डब्लुएचओले महामारी नियन्त्रणमा आउन समय लाग्ने जनाएको हो ।

बुधबार विश्वका एक लाख ६ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । डब्लुएचओका अनुसार पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरेको छ ।

यस्तै डब्लुएचओको आपतकालीन निर्देशक डा. माइक रायनले कोरोना भाइरस विरुद्धको उपचारमा औलोको औषधि क्लोरोक्वीनको प्रयोग नगर्न चेतावनी समेत दिएका छन् । औषधिको प्रभावकारिता प्रमाणित नभएकाले प्रयोग नगर्न डब्लुएचओले भनेको हो ।

कोरोना भाइरसका कारण विश्वभर आधा करोडभन्दा बढी जनसंख्या संक्रमित भैसकेका छन् भने हालसम्म विश्वभर तीन लाख २९ हजार भन्दा बढीको मृत्यु भएको छ ।