७ बैशाख २०८१, शुक्रबार
Follow Us

बुटवल अस्पतालबाट निको भएर फर्किए दश संक्रमितलाई मुख्यमन्त्रीको बधाई

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०७७, शनिबार १६:०२

बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेशनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले जानकारी दिनुभयो । “उहाँहरुमा आत्मबल बलियो भएका कारण उपचारमा सहज भयो ”, थापाले भन्नुभयो । निको हुने व्यक्ति १६ देखि ४० वर्ष उमेर समूहका छन् ।

भारतबाट लुकिछिपी आएका युवामा संक्रमण देखिएको थियो । संक्रमितको लगातार दुुई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । “कोरोनाबाट डराउनुपर्दैन । मनोबल उच्च राखे छिट्टै निको हुन्छ”, डा थापाले भन्नुभयो, यसबाट बच्न घरमै रहनु नै उत्तम हुन्छ ।”

बुटवलको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराएकामा कपिलवस्तुका दश जना डिस्चार्ज भए पनि आजै थप सात जना संक्रमित भर्ना भएको डा थापाले जानकारी दिनुभयो । यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवक निको भएर घर फर्किनुभएको थियो । शुक्रबार बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना कोरोना जितेर घर फर्किएका थिए ।

मुख्यमन्त्रीको बधाई
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको प्रदेशस्तरीय कोराना विशेष अस्पतालबाट कोरोना भाइरस जितेर बिदा हुनुभएका युवालाई बधाई दिनुभएको छ । “बधाई स्वास्थालाभ गर्नुहुने सबैलाई । अनि बधाई छ उपचारमा संलग्न चिकित्सक, स्वास्थकर्मी र व्यवस्थापक र अन्य सहयोगी सबैलाई”, सामाजिक सञ्जालमार्फत मुख्यमन्त्रीले भन्नुभएको छ ।

प्रदेशमा कोरोना भाइरस जित्नेहरुको कुल संख्या ३२ पुगेको जनाइएको छ । यसअघि सोही अस्पतालवाट एक र बाँकेको खजुरास्थित प्रदेशस्तरीय कोरोना विशेष अस्पतालवाट २१ जना स्वास्थलाभ गरी घर फर्किएको थाहा भएको छ ।