१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौं उपत्यकामा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०७७, सोमबार १४:३२

काठमाडौं । अहिलेसम्म काठमाडौं उपत्यकामा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंको टोखामा दुइ, बुढानिलकण्ठमा एक र काठमाडौं घर भई वारामा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौ उपत्यकामा संक्रमितको संख्या २१ पुगेको हो ।

आज टोखामा भेटिएका संक्रमितमध्ये एक जना ज्योतिषी र एक जना किराना पसले रहेको खुलेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार टोखा नगरपालिका–६ धनेश्वरका ४१ बर्षिय पुरुष र टोखा ६ का २७ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ । टोखका संक्रमितले ग्राण्डी अस्पताल आसपासको क्षेत्रमा किराना पसल सञ्चालन गर्दै आएका थिए ।

उनले कोरोना संक्रमणवाट मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरीसँगै शिक्षण अस्पतालमा उपचार गराएको पनि खुलेको छ । सुत्केरीको जेठ ४ गते निधन भएपछि गरिएको कन्ट्रयाक ट्रेसिङका क्रममा थप दुई जनामा संक्रमण पुष्टि भएको हो । टोखा नगरपालिकाले तरकारी, औषधि, किराना पसले, जनप्रतिनिधि लगायत गरेर तीन सय छ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो ।

त्यस्तै बूढानीलकण्ठ नगरपालिकामा भेटिएका कोरोना संक्रमित ३७ बर्षिय पुरुष ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ । उनी नगरपालिकाको स्वीकृतिमा आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर अप्ठ्यारोमा परेकालाई अस्पताल पु-याउने काममा संलग्न थिए । काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएका २१ जनामध्ये चार जना निको भएर घर फर्केका छन ।