११ बैशाख २०८१, मंगलवार
Follow Us

कोरोना पिडितको लागि तमु समाज यूकेको सहयोग

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७७, सोमबार २०:१९

लन्डन । तमु समाज यूकेले कोभिड–१९ राहत कोषमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । बेलायतमा कोभिड–१९ समस्या सुरु भएदेखि नै तमु समाज यूकेले विपद् व्यवस्थापन समिति गठन गरेर नेपाली समुदायका जेष्ठ नागरिकलाई सेवामा जुटेको थियो ।

कोरोना भाइरसको संक्रमणले दिनप्रति दिन बढ्दै गइरहेको निष्कर्ष निकाल्दै तमु समाज यूकेका सदस्य, छरछिमेक र नेपाली समुदायलाई संक्रमणबाट बच्न र अन्यलाई सर्न नदिनका लागि घरमै सेल्फ कोरेन्टाइनमा तथा आइसोलेसनमा बस्न अनुरोध गरेको अध्यक्ष शिबचन्द्र गुरुङले जानकारी दिए ।

तमु समाज यूकेले जेष्ठ नागरिकलाई आवश्यक सामग्री चाहिएमा बजारबाट खरिद गरी उनीहरुको ढोकासम्म पुयाइदिने ब्यवस्था गरेको छ । तमु समाजले जेष्ठ नागरिकको घर दैलोमा गई उनीहरुलाई भेटी हालखबर सोधपुछ गर्ने, भलाकुसारी गरी माक्स, सिनिटाइजर, वाइप्स हेन्ड वास र फलफूल बितरण गर्न १२ जनाका बिपद् व्यवस्थापन समिति गठन गरेको थियो ।

संस्थाका महासचिव हर्क बहादुर गुरुङका अनुसार विपद् व्यवस्थापन समिति गठन भएपछि तमु समाज युकेले कोभिड–१९ राहत कोष स्थापना गरी सहयोगको आह्वान गरेको छ । विपद् व्यवस्थापन समितिका सदस्यहरु लगातार तीन सातासम्म जेष्ठ नागरिक बसोबास गर्ने स्थान रिडिङ, अल्टरसर्ट, फर्नवर्ग र इस्ट लन्डनमा पुगेका थिए ।

उनीहरुलाई मास्क, सिनिटाइजर, वाइप्स, हेन्डवास र फलफूल उपलब्ध गराएको थियो । व्यवस्थापन समितिका सदस्य घरदैलोमा पुग्दा हाम्रो जेष्ठ नागरिक असाध्यै खुसी भएका थिए । कोभिड–१९ राहत कोषमा सहयोग गर्ने सबैलाई तमु समाज यूकेले सबैलाई धन्यवाद दिएको छ ।