१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना परीक्षणको रिपोर्ट नआउँदै शव दिने नेशनल मेडिकल कलेजलाई कारबाही हुने

नेपालब्रिटेन संवाददाता
१३ जेष्ठ २०७७, मंगलवार ०४:५०

काठमाडौं । पीसीआर रिपोर्ट नआउँदै मृत्यु भएका बिरामीको शव दाहसंस्कार गर्न परिवारको जिम्मा लगाउने वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि कारवाही हुने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र, पर्साले थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

कोरोना संक्रमण जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख एवम् पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले कलेज तथा शिक्षण अस्पतालमाथि थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यस घटनामा थप छानबिन एवम् कारबाही प्रक्रिया अघि बढाउन अनुरोध पनि गरेको छ । प्रशासनले मृतकको सम्पर्कमा आएका कलेजका चिकित्सक, स्वास्थ्यकर्मीलगायत सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखी पिसिआर जाँच गराउने, मृतकलाई उपचार गरिएको वार्ड तथा अस्पतालको क्षेत्र सिल गर्ने निर्णय पनि गरेको छ ।

वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा जेठ ४ गते नै मृत्यु भएका बारका ७० वर्षीय वृद्धको रिपोर्ट नआउँदै अस्पतालले शव परिवारको जिम्मा लगाएको थियो ।