१५ बैशाख २०८१, शनिबार
Follow Us

रुकुम घटना : पीडित परिवारद्वारा २० जनाविरुद्ध प्रहरीमा जाहेरी

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०७७, बुधबार ०४:०८

काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिका– आठ सोतीमा भएको घटना पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । परिवारले वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ललगायतका विरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता गराएका हुन् ।

त्यस्तै दलित अधिकारकर्मीले दोषिलाई कारबाहीको माग गर्दै जाजरकोटमा अनसन पनि थालेका छन । घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्नेलगायत माग पीडितको छ ।

पीडितको माग अनुसार प्रशासनले बेपत्ता तीन जनाको खोजीका लागि गोताखोर मगाएको छ । भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडानम्बर चारका सन्दीप विक अझै बेपत्ता छन् । खोजीकार्यमा स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु संलग्न छन् ।

आजैबाट भेरीमा बेपत्ताको खोजी थालिने प्रहरीले जनाएको छ । प्रशासनले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएका हुन् । चौरजहारी नगरपालिका–८ टीकाराम सुनारको शव परीक्षण गरिएको छ भने भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढाको परीक्षण हुन बाँकी छ ।