१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आन्तरिक उडान खुलाउने तयारी

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७७, बुधबार ०७:२१

हवाई उडान खुला गरिए पनि कोरोना संक्रमण फैलिन नदिन विभिन्न प्रकारका कडा सुरक्षा निर्देशिका बनाएर आन्तरिक उडान खुला गर्ने सरकारले तयारी गरेको छ ।

यसका लागि खुला गरिने विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी संरचनाहरूमा व्यापक परिवर्तन भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकका प्रमुख विमानस्थलमा सामाजिक दूरी कायम हुने र विभिन्न सुरक्षा प्रबन्ध हुने गरी संरचनाहरू तयार गरिरहेको हो ।

प्राधिकरणले देशभरका विमानस्थललाई निर्देशिकासमेत पठाइसकेको छ । अन्तर्राष्ट्रिय उडानको पनि निर्देशिकाको तयारी प्राधिकरणले सुरु गरेको छ ।

निर्देशिकामा यात्रु, एयरलाइन्स र विमानस्थल सबै क्षेत्रले पालना गर्नुपर्ने नियमबारे उल्लेख हुनेछ ।

यात्रुले पिसिआर वा र्‍यापिड टेस्टको रिपोर्ट देखाउनुपर्नेछ । यसबाट धेरै हदसम्म उडानमा संक्रमण फैलिन रोक्नेछ ।

विमानस्थलमा यात्रुहरूबीच दूरी कायम रहने र भिडभाड नहुने गरी गरिएका मार्किङलगायतका संरचना तयार पारिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । ‘आन्तरिक विमानस्थलहरूलाई निर्देशिका पठाइसकेको र सोहीअनुसार संरचना तयारीमा एयरलाइन्स र विमानस्थल जुटेका छन्,’ क्षत्रीले भने ।

विमानस्थलमा यात्रुले सामाजिक दूरी कायम गर्नुपर्नेछ भने सुरक्षाका विविध उपाय अपनाउनुपर्नेछ । यसका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तोकेको मापदण्ड पूरा गर्नुपर्नेछ ।

यात्रुले विमानस्थलमा प्रवेश र जहाज उडानदेखि अवतरण गरेर विमानस्थलबाट बाहिरिने वेलासम्म निर्देशिकाअनुसारका नियम पालना गर्नुपर्ने हुन्छ ।

यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यात्रुलाई कार्गो, टिकट काउन्टरका साथै विमानस्थल परिसरमा रहादा अनिवार्य मास्क प्रयोग गर्न निर्देशिकामा उल्लेख गरेको छ ।

संक्रमणबाट जोगिन विमानस्थल, चेक इन काउन्टर, र्‍याम्प बस, टिकेटिङ काउन्टर, कार्गोलगायत स्थानमा एक–आपसमा घटीमा १ मिटरको दूरी कायम गर्नुपर्ने हुन्छ । र्‍याम्प बसको क्षमताको ७५ प्रतिशत हुने गरी मात्र यात्रुलाई सेवा दिइनेछ ।

बोर्डिङ हुनुअघि सबैको हात स्यानिटाइज्ड गराइने र एकपटकमा सिट नम्बरअनुसार चारजनालाई प्रवेश गराइने र ओराल्दा पनि चारजनाका दरले ओराल्नेछन् ।

तत्कालका लागि हवाई उडानमा घरपालुवा जनावर ओसारपसार गर्न नपाइने व्यवस्थासमेत लागू गरेको जनाएको छ ।

रुघाखोकी, जिउ दुख्नेलगायत लक्षण देखिएका यात्रुलाई यात्रामा प्रतिबन्ध लगाइनेछ । श्वासप्रश्वासका रोगीलाई निषेध गरिनेछ । कोभिड–१९को लक्षण देखिएका यात्रुले अनिवार्य पूर्वजानकारी दिनुपर्ने हुन्छ ।

विमानमा स्यानिटाइज्ड गरिएका पानीबाहेक अन्य खानेकुरामा पूर्ण प्रतिबन्ध लाग्नेछ । उडान अवधिभर शौचालय प्रयोगलाई निषेध गरिनेछ । एयरलाइन्सका काउन्टरमा सिसा प्रयोग हुनेछ ।

एयरलाइन्सले कर्मचारी, कार्यालय, मर्मत–सम्भारस्थल, सवारीसाधन र विमानस्थलमा रहेका मेसिन संयन्त्रलाई संक्रमणरहित बनाउनका लागि छुट्टै निर्देशिका तयार गर्नुपर्नेछ ।

सम्पूर्ण सवारीसाधन, र्‍याम्प, बस, भ्यान, ट्याक्टर सञ्चालनअघि बिहान र दिउँसो स्यानिटाइज्ड गर्नुपर्ने हुन्छ ।