८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली भाषामा स्वास्थ्य सचेतनासम्बन्धी सामग्री प्रकाशन गर्न एनआरएनए युकेको पहल

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७७, बुधबार २१:३४

लण्डन । स्वास्थ्य सचेतनासम्बन्धी जानकारी र सूचनालाई नेपाली भाषामा समेत उपलब्ध गराउने सम्बन्धमा पब्लिक हेल्थ इंग्ल्याण्ड सकारात्मक देखिएको छ ।

पब्लिक हेल्थ इंग्ल्याण्डबाट जारी हुने सूचनाहरुलाई नेपाली भाषामा पनि उपलब्ध गराउन आग्रह गर्दै एनआरएनए यूकेले पठाएको पत्रमा सकारात्मक जवाफ मिलेको हो ।

एनआरएनए यूकेका तर्फबाट उपाध्यक्ष नारायण कँडेलले गत अप्रिल २० मा पठाएको पत्रको जवाफमा पब्लिक हेल्थ इंग्ल्याण्डले मे २२ मा लेखेको पत्र बुधबार प्राप्त भएको जनाइएको छ ।

पब्लिक हेल्थ इंग्ल्याण्डको पत्रमा बेलायतको लागि गोर्खा समुदायले पुर्याएको योगदानको उच्च प्रशंसासहित उनीहरुको सुरक्षा र स्वास्थ्यको विषय आफूहरुको लागि निकै महत्वपूर्ण भएको समेत उल्लेख छ ।

पब्लिक हेल्थ इंग्ल्याण्डले आफ्ना सूचनाहरु अंग्रेजी बाहेक पोलिस, वेल्स, अरेबिक, फ्रेञ्च, चाइनिज, पञ्जाबी, उर्दू, बंगाली, गुजराती र पोर्चुगिज लगायत भाषामा उपलब्ध गराउँदै आएको छ ।

बेलायतमा नेपाली भाषा प्रयोगकर्ताको ठूलो संख्या रहेको तथा बेलायतको लागि महत्वपूर्ण योगदान गरेका गोर्खाहरुमा अंग्रेजी भाषा नबुझ्दा समस्या भएको भन्दै एनआरएनए यूकेले नेपालीमै सूचना उपलब्ध गराउन पहल अघि बढाएको हो ।