४ बैशाख २०८१, मंगलवार
Follow Us

विदेशीको सहयोगमा सिङ्गो गाउँ पुनःनिर्माण

नेपालब्रिटेन डट कम्
२१ मंसिर २०७३, मंगलवार ०४:४०

गोरखा । भूकम्प गएको २० महिनापछि गोरखाको श्रीनाथकोट गाविस–३ डाँडागाउँका भूकम्प प्रभावितले नयाँ घर पाएका छन् । एकासीवटा घर, घरघरै खानेपानीसहितको धारा निर्माण, तीन किलोमिटर सडकको स्तरोन्नति र एक विद्यालयको पुनःनिर्माण कोरियास्थित बेटर वल्र्ड नामक संस्थाले अनुग्रह सामुदायिक विकास केन्द्रको समन्वयमा निर्माण गरिदिएपछि भूकम्पपीडित खुसी छन् ।

दलित र जनजाति समुदायको बसोबास रहेको डाँडागाउँका घर भूकम्पले क्षति पु¥याएपछि स्थानीयवासी टहरोमा बस्दै आएका थिए । इन्जिनियर समेत रहेका कोरियाको राजधानी सोलका इल गो पार्कले नेतृत्व गरेको स्वयम्सेवक समूहले स्थानीय कामदारको सहयोगमा सिङ्गो गाउँ पुनःनिर्माण सम्पन्न गरेका हुन् । यही डिसेम्बर महिनामा गाउँलेलाई नयाँ घर हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । अहिले घरघरै धारा निर्माणको काम भइरहेको छ ।

अनुग्रह सामुदायिक विकास केन्द्रका अध्यक्ष साधुराम नेपालीले एउटा घर पुनःनिर्माणमा रु तीन लाख ८० हजार ५६५ लगानी भएको जानकारी दिनुभयो । दुईकोठे भूकम्पप्रतिरोधी घर निर्माणमा सघाएको संस्थाले बुद्धिकल्याण प्राथमिक विद्यालयमा छकोठे भवन निर्माण गरिदिएको छ ।

“विद्यालय पुनःनिर्माणमा करिब रु २५ लाख लगानी गरिएको छ”, संस्थाका कर्मचारी कमल शाही सुनुवारले भन्नुभयो । शौचालयसहित विद्यालयको जग्गा तारबार गर्ने काम पनि गरेको उहाँको भनाइ छ ।

बर्खाको भेलले सडक बिगारेपछि जनकल्याण माविदेखि गाविस भवनसम्म तीन किलोमिटर सडक मर्मत गरिएको र एक हजार ५०० मिटर टाढाको खोलाबाट गाउँमा खानेपानी ल्याएको सुनुवारको भनाइ छ । भूकम्पले क्षति पु¥याएको संरचना तह लगाएर एउटै प्रकृतिका घर निर्माण गर्न श्रमदान गरेका कोरियाका पार्कले भन्नुभयो, “सुन्दर गाउँ पुनःनिर्माणमा सघाउन पाएकोमा खुसी छौँ ।” घर गुमाएपछि दुःख र पीडाका बीच नेपाली दाजुभाइ, दिदीबहिनीको सहयोगमा गाउँ पुनःनिर्माण सम्भव भएको पार्कको तर्क छ ।

विदेशीले नयाँ घर बनाइदिएपछि श्रीनाथकोट–३ डाँडागाउँका रमेश मजकोटी र मीनबहादुर अछामी आँगन सम्याउने काममा ब्यस्त देखिए । रमेशले भन्नुभयो, “सरकारी अनुदान नलिने गरी विदेशीले हामीलाई घर नै बनाइदिएका हुन् । सरकारले घर बनाउने अनुदान नदिने हो भने पनि हामीलाई सहुलियत ब्याज तिर्ने ऋण लिने इच्छा छ ।

ऋणले अन्नपात भण्डारण गर्ने अर्को घर बनाउनुपर्छ ।” दुई कोठाको घरले जीवन निर्वाह हुने भएपनि अन्नपात राख्न र पाहुना ब्यवस्थापनका लागि ठाउँको अभाव भएको उहाँको भनाइ छ । अनुग्रहले गाउँमा कृषि र स्वास्थ्य क्षेत्रमा रही आगामी दिनमा काम गर्ने योजना बनाएको छ ।