१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुदुरपश्चिमका नाकाबाट दुई सातामा ४० हजार स्वदेश भित्रिए

नेपालब्रिटेन संवाददाता
१६ जेष्ठ २०७७, शुक्रबार ०४:१२

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता चालिस हजार भन्दा बढी स्वदेश भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउने क्रम अझै जारी छ । गौरीफन्टा नाकाबाट २९ हजार भन्दा बढी भित्रिएका छन् । त्यसै गरी, गड्डाचौकी नाकाबाट दश हजार भन्दा बढी भित्रिएका छन् ।

त्यस्तै, बैतडीको झुलाघाट नाकाबाट ५ सय ७६ जना नेपाली भित्रिएका छन् । भारतमा अलपत्र परेका हजारौँ नेपालीलाई ल्याउन नेपाल भारत सीमा नाका खुल्ला गरिएसँगै उनीहरूको आउने क्रम बढ्दै गइरहेको छ । सीमा क्षेत्र तथा भारतको विभिन्न क्वारेन्टिनमा रहेका नेपालीलाई भित्राउने कार्य भइहेको छ ।

जेठ २ गतेदेखि नेपाल भित्रिनेहरूको विवरण दैनिक सीमामा खटिएका सुरक्षाकर्मीले राखी सम्बन्धित जिल्लामा पठाउने कार्य गरिएको छ । सीमा खुल्ला गरिएपछि पछिल्लो पटक सुदूरपश्चिमका नौ जिल्लालगायत अन्य जिल्लाका नागरिकलाई सम्बन्धित पालिकाले आफैँ सवारी साधन पठाएर लगिरहेका छन् ।

नेपाल भित्रनेलाई स्वास्थ्य परीक्षण नै नगरी स्थानीय तहका क्वारेन्टिनमा पठाइएको छ । भारतबाटै फर्किनेमा कोरोना पुष्टि भैरहेको समयमा यसले सुदुरपश्चिमका सबै जिल्लामा कोरोना संक्रमणको जोखिम बढाएको छ ।