१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा सचिवालय बैठक आज बस्दै : एमसीसीबारे छलफल हुने

नेपालब्रिटेन संवाददाता
१७ जेष्ठ २०७७, शनिबार ०४:२७

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ सम्झौतालाई लिएर पार्टीभित्र देखिएको विवादमा सहमतिको प्रयास हुनेछ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा डेढघन्टा लामो छलफलपछि बैठक बोलाइएको हो । पार्टीभित्र विवाद रहेकै समयमा बजेटमा एमसीसी आन्र्तगतका परियोजना अघि बढाउने विषय समावेश गरिएपछि सत्तारुढ नेकपामा विवाद चुलिएको छ ।

सत्तारुढ दल नेकपाभित्र विवादित बनेको अमेरिकी सहयोग एमसिसी परियोजनाअन्तर्गत प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदान बजेटमा समावेश भएको छ । पार्टी निर्णयविनै परियोजनाअन्तर्गत रकमै तोकेर अनुदान सहायता प्राप्त हुने रकम बजेटमा ल्याइनु गम्भीर आपत्तिजनक भएको माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताको भनाइ छ ।

पार्टीभित्र विवाद भएपछि यसबारे अध्ययन गर्न बनाइएको कार्यदलले एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने सुझाव दिएको छ । बैठकमा संबिधान संसोधन प्रस्तावमा साझा मत बनाउने विषमा पनि कुराकानी हुने बताइएको छ ।