११ बैशाख २०८१, मंगलवार
Follow Us

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०७७, आईतवार ०८:१४

काठमाडौं । सरकारले नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २ हजार ७७ संसद बैठकमा पेश गरेकी हुन् ।

भारतले अतिक्रमण गरेको नेपालको भूमी लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि सरकारले संविधानको अनुसूची ३ मा व्यवस्था भएको नेपालको निशान छापबारे संशोधन गर्न लागेको हो । संविधान संशोधनपछि निशान छापमा रहेको पुरानो नेपालको नक्सालाई परिवर्तन गरी नयाँ नक्सा अध्यावधिक हुनेछ ।

संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको समेत समर्थन रहेकाले यो सजिलै पारित हुने निश्चित जस्तै छ । संविधान संशोधनका लागि संसदमा दुई तिहाई सांसदको समर्थन चाहिन्छ ।

यसअघि जेठ १४ गतेको संसद् बैठकमा नै संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम रहेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्न समय मागेपछि विधेयक पेश गर्ने कार्यसूची अन्तिम समयमा हटाइएको थियो ।