१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘यसरी खुकुलो हुदैछ बेलायतमा लकडाउन ‘

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७७, आईतवार १९:५८

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई न्यूनीकरण गर्न सरकारद्वारा गत मार्च २३ तारिखबाट जारी गरेको लकडाउनलाई (जुन १ तारिख) सोमबारबाट केहि खुकुलो पार्ने निणय गरिएको छ । कोरोना भाइरसका कारण बेलायातवासीहरुले इतिहासमै पहिलोपल्ट ७० दिन लामो लकडाउनको अनुभव गरेका छन् । गतवर्ष डिसेम्बरको अन्तिमबाट चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले यतिबेला विश्वलाई नै आक्रान्त बनाएको छ । कोरोना भाइरसकै कारण संसारभरिका ३ लाख ७२ हजारभन्दा बढी मानिसहरुको ज्यान गैसकेको छ भने ६१ लाख ८४ हजार मानिसहरु संक्रमित बनेका छन् ।

सबैभन्दा बढी मानिसहरु मृत्यु हुने मुलुकहरुमा बेलायत युरोपकै पहिलो स्थानमा रहेको छ भने विश्वमा अमेरिकापछि बेलायत दोस्रो स्थानमा पर्दछ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारीअनुसार शनिबारसम्म कोरोना संक्रमणका कारण बेलायतमा ३८ हजारभन्दा बढीको ज्यान गैसकेको छ भने २ लाख ७२ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छ । अझै पनि दैनिक २ सयको हाराहारीमा कोरोनाबाट मानिसहरुको मृत्यु भैरहेको छ भने झन्डै दुई हजार मानिसहरु संक्रमित भैरहेका छन् ।

यस्तो विषम परिस्थितिमा पनि नवौं हप्ता लामो लकडाउनलाई बेलायती प्रधानमन्त्री बोरिस जोन्सनद्वारा सोमबारबाट लकाडाउनलाई केहि सहज पार्न गरिएको घोषणाबाट बेलायतवासीहरु उत्साही बनेका छन् । सरकारले गरेको यस्तो घोषणा अघि नै बेलायतका पार्क तथा सामुन्द्रिक किनाहरुमा लकडाउनको बेवास्ता गर्दै आएका बेलायतवासीहरुले लकडाउन सहजीकरणको निर्धारित समय अगावै व्यापक रुपमा लकडाउनको नियम उल्लंघन गरेका छन् । दुई सय माइलभन्दा बढीको यात्रा पार गरेर समुन्द्रको किनारमा जानेहरुलाई शनिबार बीच बाटोबाटै प्रहरीले घर फर्काइदिएको थियो ।

त्यस्तै बेलायतकै सुन्दर एवम् रमणीय चट्टानसहितको समुन्द्री किनार डर्डलडोरलाई अनिश्चितकालका लागि बन्द गरिएको छ । उक्त स्थानमा शनिबार हजारौंको संख्यामा मानिसहरु जम्मा भएका थिए । त्यहाँको आकर्षकको रुपमा रहेको चट्टानबाट मानिसहरु समून्द्रमा हाम्फाल्ने गर्दछन् । सोहि क्रममा करिब २ सय फिट उचाईबाट हामफाल्दा ३ जना व्यक्ति घाइते भएपछी एयर एम्बुलेन्सले उद्धार गरेको थियो । त्यस्तै बेलायतको केन्द्रमा रहेको हाइडपार्क कर्नरमा शनिबार भएको छुरी काण्डमा ३ जना घाइते भएको र घटनामा संलग्न ४ जनालाई प्रहरीद्वारा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

सामाजिक दुरी कायम गर्दै इङ्ग्ल्याण्डमा बढीमा ६ जनासम्मको ग्रुपमा पार्क वा घरको गार्डेनमा भेटघाट गर्न पाउनेगरी सोमबारबाट बेलायत सरकारले लकडाउन खुकुलो पार्ने घोषणा गरेको छ । तर इङ्ग्ल्याण्ड, आयरल्याण्ड, वेल्स र स्कटल्याण्डमा आ–आफ्नै तरिकाले लकडाउनको नियम लागू हुनेछ । इङ्ग्ल्याण्डमा तथा नर्दर्न आएरल्याण्डमा ६ जनाको ग्रुपमा भेटघाट गर्न पाइनेछ भने स्कटल्याण्डमा ८ जना र वेल्समा दुई परिवारबीचमा जति पनि संख्यामा भेट्न पाइनेछ । त्यस्तै इङ्ग्ल्याण्ड र नर्दर्न आएरल्याण्डमा आउटडोर जुनसुकै ठाउँमा भेट्न सकिने भएपनि स्कटल्याण्ड र वेल्समा आउटडोर ५ माइलभित्रको दूरीबीचमा मात्र भेट्न सकिनेछ ।

यसैगरि स्कटल्याण्ड र नर्दर्न आएरल्याण्डमा लकडाउन सहज भैसकेको छ भने इङ्ग्ल्याण्ड र वेल्समा जुन १ सोमबारबाट लागू हुनेछ । लकडाउनलाई खुकुलो गरिएपनि रात बिताउनेगरि बस्न नपाइने तथा ट्वाइलेटको प्रयोग तथा गार्डेनमा जान बाहेक घरभित्र बस्न समेत नपाइने बताइएको छ । तर सरकारद्वारा गरिएको उक्त घोषणाप्रति भने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । कोरोनाको संक्रमण अझै नियन्त्रणमा आइनसकेकोले लकडाउन खुकुलो पार्न सरकारले हतार गरेको विज्ञहरुको भनाइ छ । लन्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर एडमन्ड्स तथा द साइन्टिफिक ग्रुप फोर इमर्जेन्सी (सेज) ले पनि बेलायतमा कोरोना अझै तिव्र गतिमा फैलिरहेकोले निकै सावधान रहनुपर्ने धारणा व्यक्त गरेका छन् ।

वेलकम ट्रस्टका निर्देशक तथा सेजका सदस्य सर जेरेमी फरारले बेलायतमा कोरोनाको संक्रमण फैलिरहेको हुँदा स्वास्थ्य विभाग (एनएचएस) ले ‘टेष्ट एण्ड ट्रेस’ लाई निकै प्राभावकारी बनाउनुपर्ने बताएका छन् । लकडाउन उलंघनको बढ्दो घटनाले थप चिन्ता थपिएको छ । अहिलेसम्म कुनै पनि औषधि पत्ता नालागेको हुँदा यसबाट बच्नको लागि लकडाउन र यसको पालना मात्र एक विकल्पको रुपमा रहेको छ । विभिन्न मुलुकहरुमा कोरोनाको खोपको परीक्षण मात्र भैरहेको भने यसै वर्षको अन्तसम्ममा खोपलाई बजारमा ल्याउने बेलायत, चीन, अमेरिका लगायतका मुलुकहरुले आश्वाशन दिएका छन् ।