१५ चैत्र २०८०, बिहीबार
Follow Us

विदेशबाट आएकालाई नि:शुल्क सीमकार्ड

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७७, आईतवार २०:०२

काठमाडौँ — सरकारले स्थलमार्ग हुँदै भारतबाट आएका तथा हवाईमार्गबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्दा दैनिक प्रतिव्यक्ति १ सय ७५ रुपैयाँका दरले भुक्तानी गर्ने भएको छ । तर, यो रकम क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई नभएर क्वारेन्टाइन राखिएको पालिकालाई दिइनेछ ।

यसले क्वारेन्टाइन व्यवस्थित बनाउन मद्दत पुग्ने सरकारको ठहर छ । मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त रुपमा बसेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो ।

हवाईमार्ग हुँदै विदेशबाट आएका मानिसको ‘कन्ट्याक ट्रेसिङ’सहज बनाउन सरकारले नै नि:शुल्क सीमकार्ड उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । निशुल्क सीमकार्ड व्यवस्था गर्न दूरसञ्चार कम्पनी नेपाल टेलिकमसँग समन्वय थालेको छ ।

‘विदेशबाट आउने मानिससँग आफ्नै सीमकार्ड नभएमा सरकारले नै नि:शुल्क उपलब्ध गराउने निर्णय भएको छ । यसबाट उनीहरुको निगरानी गर्न सजिलो हुन्छ,’आइतबारको बैठकमा सहभागी एक अधिकारीले कान्तिपुरसँग भने, ‘अहिलेसम्मको हाम्रो अनुभवले कतिपय संक्रमितले आफू हिँडडुल गरेको स्थानको समेत राम्रोसँग जानकारी नदिने प्रवृत्तिका कारण कथमकदाचित क्वारेन्टानबाट घर गएपछि पनि संक्रमण देखिएको अवस्थामा उनीहरुको कन्ट्याक ट्रेसिङ सहज बनाउन सरकारी तहबाटै सिमकार्डको व्यवस्था गर्न लागिएको हो ।’