७ बैशाख २०८१, शुक्रबार
Follow Us

उपाधिनजिक बायर्न

नेपालब्रिटेन संवाददाता
१९ जेष्ठ २०७७, सोमबार ०४:०६

म्युनिख । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख यो सिजनको जर्मन बुन्डेस लिगाको उपाधिनजिक पुगेको छ । शनिबार राति रेलिगेसन जोनमा संघर्ष गरिरहेको फोर्टुना डुसेलडर्फमाथि ५–० को सानदार जित निकाल्दै बायर्न लगातार आठौंपटक बुन्डेस लिगाको उपाधिनजिक पुगेको हो ।
बुन्डेस लिगामा अब पाँच चरणको ेखल बाँकी रहँदा बायर्नलाई च्याम्पियन बन्नको लागि तीन जितको खाँचो छ ।

बायर्नले अब बायर लिभरकुसेन, बोरुसिया मान्चेनग्लाडवाच, वेर्डर ब्रेमेन, फ्रेइवर्ग र वल्फ्सवर्गसँग खेल्न बाँकी छ । यसमध्ये कुनै तीन खेलमा जित हात पारे बायर्न यो सिजनको च्याम्पियन बन्नेछ । गत मंगलबार उपाधि दौडमा रहेको बोरुसिया डर्टमन्डमाथि १–० को जित निकालेसँगै बायर्नको उपाधि यात्रा थप सहज बनेको थियो । बायर्नले एक खेल कम खेलेको बोरुसिया डर्टमन्डलाई १० अंकले पछि पारेको छ । बायर्नको २९ खेलबाट ६७ अंक छ । पराजित डुसेलडर्फ २७ अंकसहित १६औं स्थानमा रहेको छ ।

घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नको फराकिलो जितमा लेवान्डोस्कीले दुई तथा बेन्जामिन पाभर्ड र अलफन्सो डाभिसले समान एक गोल गर्दा एक गोल उपहार पाएको थियो । एकपक्षीय बनेको खेलको १५औं मिनेटमा बायर्नले आत्मघाती गोलबाट अग्रता लिएको थियो । डुसेलडर्फका म्याथियस जर्गेन्सनले बेन्जामिन पाभर्डको प्रहारलाई जोगाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । २९औं मिनेटमा जोसुवा किम्मिचको पासमा पाभर्डले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो ।

४३औं मिनेटमा थोमस मुलरको पासमा लेवान्डोस्कीले गोल गरेपछि बायर्नले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो । दोस्रो हाफको सुरुवाती ७ मिनेटमा बायर्नले थप दुई गोल गर्दै बायर्नले खेललाई पुरै आफ्नो नियन्त्रणमा लिन सफल भएका थिए । ५०औं मिनेटमा लेवान्डोस्कीले सर्जी जिनाब्रीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । त्यसको दुई मिनेटपछि अलफन्सो डासभसले गोल गर्दै बायर्नलाई ५–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न फराकिलो जित निकाल्न सफल भयो । डुसेलडर्फविरुद्ध दुई गोल गरेसँगै बुन्डेस लिगामा उच्च गोलकर्ता रहेका ३१ वर्षीय लेवान्डोस्कीले २७ खेलमा आफ्नो गोलसंख्या २९ पु¥याएको छ । बायर्नका लागि लेवान्डोस्कीले यो सिजन ३७ खेलमा गोलसंख्या ४३ पुगेको छ । उनलाई आरबी लाइप्जिगका टिमो वेर्नर (२४) ले पछ्याइरहेको छ ।

यता, कोरोना त्रासपछि सुरु भएको जर्मन बुन्डेस लिगामा साल्केले लगातार चौथो हार बेहोरेको छ । घरेलु मैदानमा वेर्डर ब्रेमेनसँग १–० ले पराजित भएसँगै साल्केले लगातार चौथो हार बेहोरेको हो । साल्के यसअघि बोरुसिया डर्टमुन्ड, अग्सवर्ग र डुसेलडर्फसँग पराजित भएको थियो । लगातारको हारसँगै साल्के २९ खेलबाट ३७ अंक जोडेर १०औं स्थानमा रहेको छ । साल्केलाई पराजित गरेको वेर्डर ब्रेमेन २५ अंक जोडेर रेलिगेसन जोनको १७औं स्थानमा यथावत रहेको छ ।

भेल्टिन्स एरिनामा शनिबार राति भएको खेलमा घरेलु टोली साल्के खेलको ३२औं मिनेटमा लियोनार्दाे बिटेनकर्टको गोलबाट पछि परेको थियो । उनले मिलोट रासिकाको पासमा गोल गरेका थिए । त्यही गोल नै ब्रेमेनको जितमा निर्णायक बन्यो । अन्य खेलमा हेर्था बर्लिनले अग्सवर्गलाई २–० ले पराजित गरेको छ । होफेनहाइनले माइन्जमाथि १–० को झिनो जित निकाल्दा आइनट्राख्ट फ्रान्कफर्टले वल्फ्सवर्गमाथि २–१ को कठिन जित निकालेको छ । हेर्था ३८ अंक जोडेर नवौं, अग्सवर्ग १४औं, होफेनहाइन सातांै, माइन्ज १५औं, फ्रान्कफर्ट १२औं तथा वल्फ्सवर्ग छैटौं स्थानमा रहेको छ ।