८ बैशाख २०८१, शनिबार
Follow Us

अष्ट्रेलियामा लकडाउन झनै खुकुलो

नेपालब्रिटेन संवाददाता
१९ जेष्ठ २०७७, सोमबार ०८:५२

ब्रिजवेन । अष्ट्रेलियामा कोरोना नियन्त्रण गर्न लागु गरिएका प्रतिबन्धहरु थप खुकुलो हुदै गएको छ । जुन १ तारिख अर्थात सोमबारबाट अष्ट्रेलियाका अधिकांश राज्यहरुमा लक डाउन झनै खुकुलो बनाइएको छ । कोरोना संक्रमणको दर अधिकांश राज्यमा शुन्यमा झरेपछि अष्ट्रेलियाले केही साता यता लक डाउन प्रतिबन्धहरु खुकुलो बनाउदै आएको छ । सामाजिक दुरी कायम गर्दै प्रतिबन्ध हटाउदा नया संक्रमण नियन्त्रणमा आएपछि थप खुकुलो पार्दै लगिएको हो । अष्ट्रेलियामा मार्च २५ तारिखदेखि लक डाउन गरिएको थियो । विभिन्न राज्यमा जुन १ तारिखबाट खुुकुलो पारिएका प्रतिबन्धहरु यस्ता छन् ।

न्यु साउथ वेल्स
न्यु साउथ वेल्समा सोमबारबाट पब, क्लब र क्याफेहरुमा एक पटकमा ५० जनासम्मले प्रवेश गर्न पाउनेछन् । यसअघि २० जना प्रवेशको नियम लगाइएको थियो । त्यस्तै ब्युटी पार्लरहरुले एक पटकमा १० जनासम्म ग्राहकलाई सेवा दिन सक्नेछन् । त्यस्तै विवहामा २० जना सहभागी हुन पाउनेछन् भने मलामी र धार्मिक संस्कारमा ५० जना सहभागी हुन पाइने भएको छ । त्यस्तै राज्यको रिजनल क्षेत्रमा यात्रा गर्न, क्याम्पिङ र क्याराभान पार्कहरु पनि सोमबारबाट खुल्ला भएको छ ।

कुइन्सल्याण्ड
कुइन्सल्याण्डमा भने पब, क्याफे र रेष्टुरेन्टमा २० जनाले एक पटकमा प्रवेश पाउनेछन् । यसअघि १० जना मात्रैले प्रवेश पाउने नियमलाई खुकुलो पारिएको हो । त्यस्तै राज्यभित्रको रिजनल क्षेत्रमा पनि यात्रा गर्न छुट गरिएको हो । तर, राज्यको नाका भने बन्दै रहनेछ ।

भिक्टोरिया
भिक्टोरिया राज्यमा सार्वजनिक स्थलमा २० जना जम्मा हुन पाइने भएको छ । यो नियमसंगै अब भिक्टोरिया राज्यमा पनि क्याफे, रेष्टुरेन्ट, बार, पुस्तकालयमा २० जनाले एक पटकमा प्रवेश पाउनेछन् । त्यस्तै विवहामा यसअघिको नियम खुकुलो बनाउदै २० जना सहभागी हुन पाउने तथा मृत्यु संस्कारमा ५० जनासम्म भेला हुन पाउने नियम लागु भएको छ । त्यस्तै होलिडे होममा बस्न जान पाउने तथा पर्यटकिय हिसाबले महत्वपुर्ण क्याराभ्यान पार्क र क्याम्पिङ पार्कहरु पनि खुल्ला गरिएको छ ।

साउथ अष्टेलिया
यो रज्यमा पनि जुन १ तारिखबाट लक डाउन खुकुलो पारिएको छ । अब सोमबारदेखि साउथ अष्ट्रेलियामा पब, क्याफे, रेष्टुरेन्ट र क्लबहरुमा ८० जनासम्म एक पटकमा सहभागी हुन पाउनेछन् । त्यस्तै सिनेमा हल, थियटर, जिम र व्युटी पार्लरमा एक पटकमा २० जनासम्मले प्रवेश पाउनेछन् । त्यस्तै मृत्यु संस्कारमा ५० जना सम्मले सहभागी हुन पाउनेछन् । त्यस्तै विवहा संस्कारमा पनि २० जनासम्म सहभागी हुन पाइने भएको छ ।

अन्य राज्यहरु तस्मानिया, वेष्टर्न अष्ट्रेलिया, नर्दन टेरिटोरी र अष्ट्रेलियन क्यापिटल टेरिटोरी क्यानवेरामा यसअघि नै लक डाउन खुकुलो पारिएको छ । अष्ट्रेलियामा हालसम्म ७ हजार १ सय ९५ जनालाई कोरोना लागेको छ । ती मध्ये अधिकांश निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १२ जनालाई कोरोना लागेको तथ्यांक छ ।