८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतका व्यवसायी खरेलको जन्मोत्सव चेपाङ बस्तीमा

नेपालब्रिटेन संवाददाता
१९ जेष्ठ २०७७, सोमबार ०९:४४

भरतपुर । बेलायतमा रहेका युवा व्यवसायी विष्णु खरेलले आफ्नो जन्मदिन चितवनको पहाडी क्षेत्रमा रहेका चेपाङ समुदायसँग मनाए । जन्मदिनको अवसरमा उनले चेपाङका ९० परिवारलाई १ बोरा चामल, १ बोरा भुजा, दाल २ किलो, नुन तेल २र२ पोका, सोयाविन, साबुनलगायतका सामाग्री हस्तान्तरण गरे ।

कोभिड १९ ले समस्यामा परेका कालिका नगरपालिकामा रहेका चेपाङ समुदायलाई नेपाली कांग्रेस चितवनको सभापति जीतनारायण श्रेष्ठसहित ३ नम्बर प्रदेश सांसद बलराम पौडेल, सूर्यहरी मरहठ्ठा, विष्णुहरि अधिकारी (केशव), विष्णु खरेलका बुवा चुडामाणि खरेल, आमा चन्द्रकला खरेल, अर्जुन ढकाल, विन्दु पौडेल, रामु खरेल, चेतराम गैरेलगायतले राहत प्रदान गरेका थिए ।

कालिका नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीले विपन्न चेपाङहरुको लागि गरिएको राहत वितरण उदाहरणीय भएको बताए । हालसम्म चेपाङ बस्तीमा बाँडिएको राहतमध्ये यो सबै भन्दा धेरै वितरण गरिएको उनले बताए ।

बाबुराम प्रजा र कुशुम प्रजाले एक महिनासम्म पुग्ने राहत पाएको भन्दै जन्मदिनको अवसरमा राहत वितरण गर्ने युवा व्यवसायी विष्णु खरेललार्इ जन्मदिनको शुभकामना दिएका थिए ।

सो सहयोग रकम संकलनका लागि खरेलले बेलायतको ग्रेसटस्थित आफ्नो ‘बेलिफ रेष्टुरेन्ट’ मा गत सोमबार ‘टेक अवे च्यारिटी’ आयोजना गरेका थिए । उक्त च्यारिटी कार्यक्रममा १८ सय १ पाउण्ड रकम संकलन भएको थियो । यसैगरी फेसबुकमा ‘जस्ट गिभिङ’ मार्फत पनि उनले ६ सय २३ पाउण्ड संकलन गरेका थिए । बेलायतमा रेष्टुरेन्ट व्यवसायका साथै इमिग्रेसन एड्भाइजरका रुपमा समेत काम गर्दै आएका छन् ।

उहाँले केहि महिनाअघि आफ्नो छोरीको जन्मदिनमा पनि विपन्न परिवारका तीन विद्यार्थीलाई वर्षभरको अध्ययनका लागि ५० हजार रकम सहयोग गरेका थिए भने छोराको जन्मदिनमा क्याट यूकेको कोषका लागि १६ सय ९० पाउण्डको गरेका थिए । बुद्ध फाउण्डेसन यूकेका लगायतका विभिन्न सामाजिक सस्थामा पनि उनले विभिन्न सहयोग आएका छन् ।