७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रियतामा कम्युनिष्टहरुको बिश्वास गर्न सकिन्न : कांग्रेस नेता निधि

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७७, सोमबार १८:२४

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रियताको मुद्धालाई कम्युनिष्टहरुले सत्ता जोगाउने अस्त्रका रुपमा प्रयोग गरेको बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा १३ औं गणतन्त्र दिवसका अबसरमा सोमबार आयोजित लोकतन्त्रको सुदृढीकरणका बिषयमा कर्णाली प्रदेश स्तरीय जुम कन्फरेन्सको शुभारम्भ गर्दै प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति निधिले लोकतन्त्र र राष्ट्रियतामा कम्युनिष्टहरुको बिश्वास नभए पनि सत्ता जोगाउनका लागि उनीहरुले त्यसलाई अस्त्रका रुपमा प्रयोग गरेको बताएका हुन्।

नेपाली भूमि अतिक्रमणका सबालमा सत्तासीन नेकपाले लगाएको आरोपको खण्डन गर्दै उनले कांग्रेसलाई राष्ट्रियता र देशभक्तिको पाठ कसैले सिकाइरहनु जरुरी नभएको उल्लेख गरे। निधिले प्रश्न गरे चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुलाई बोलाएर प्रशिक्षण लिएका कम्युनिष्टहरुले राष्ट्रियता, लोकतन्त्र र देशभक्तिका बारेमा हामीलाई सिकाउने?

चिनियाँ पक्षले सगरमाथा दुबै देशको सिमानामा पर्छ भनेर त्याँहाका सरकारी मिडियाबाट सार्बजनिक भएका बिषयमा सरकार मौन रहनुलाई उनले आश्चर्यको बिषय भएको बताए। राष्ट्रियताप्रति इमान्दार ठान्ने कम्युनिष्ट सरकारले यस बिषयमा मौन बसेर चिनियाँ पक्षको भक्ति गरेको निधिले आरोप लगाए। उनले यस बिषयमा सरकारको आधिकारिक धारणा आउनु पर्ने माग गरे।

एकदलीय व्यबस्थामा बिश्वास गर्ने कम्युनिष्टहरुले बुझ्नुपर्छ कि लोकतन्त्रको बिकल्प अरु केही हुनै सक्दैन, निधिले भने लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो। लोकतन्त्रमा केही कमजोरी भएमा तिनलाई हटाएर उन्नत बनाउनु पर्ने उनको भनाई थियो।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले अहिलेको अबस्थामा कम्युनिष्टहरुका कारण लोकतन्त्रमाथि चुनौती देखिएको भन्दै त्यसप्रति देशभरका कांग्रेसजनहरु सचेत हुनुपर्ने बताए।

जुम कन्फरेन्समा प्रतिष्ठानका सदस्य डा. गोविन्दराज पोखरेलले सरकारले हालै ल्याएको बजेट र मुलुकको समग्र अर्थव्यबस्थाबारे जानकारी गराएका थिए। यसैगरी डा. नवराज केसीले कोभिडले कर्णाली प्रदेशमा ल्याएको संकटबारे जानकारी गराएका थिए। यसैगरी पत्रकार रामजी दाहालले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा प्रेसको भूमिका बारे प्रस्तुत गरेका थिए।

कांग्रेस केन्द्रीय सदस्यद्धय जीवनबहादुर शाही र ह्रदयराम थानीले लोकतन्त्रका सामु देखा परेका चुनौतीबारे धारणा राखेका थिए। कर्णाली प्रदेशका सांसद, कांग्रेस जिल्ला सभापतिलगायत स्थानीय निकायका जनप्रतिनिधिको सहभागिता रहेको थियो। प्रतिष्ठानका सदस्य ध्रुव पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सदस्य मोतीराज बम, नारायण सापकोटा लगायतले बोलेका थिए।

सोमबार नै प्रदेश नं ५ स्तरीय जुम कन्फरेन्स सम्पन्न भएको छ। त्यस अबसरमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले लोकतन्त्रकाप्रति सरकार इमान्दार नभएको बताए। उनले कोरोना भाइरस रोकथामका लागि कुनै योजना नै नभएको भन्दै खाँडले सरकार जनताको सुरक्षाप्रति गैरजिम्मेवार भएको आरोप लगाए।
कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, प्रदेश नं ५ का कांग्रेस जिल्ला सभापतिहरुले कम्युनिष्टका कारण लोकतन्त्र खतरामा परेको बताएका थिए।

जुम कन्फरेन्समा नेपाली जनसम्पर्क समिति युरोपका महासचिव गंगाधर गौतमले प्रबासमा रहेका जनसम्पर्क समिति र महाधिबेशन प्रतिनिधि तथा महासमिति सदस्यहरुका लागि जुममार्फत प्रशिक्षण संचालन गर्नुपर्ने बताए। उनले कांग्रेसलाई आबश्यक पर्ने एक आकस्मिक कोष स्थापना गर्न अक्षय कोष को निर्माणका लागि प्रवासमा रहेका नेपालीहरुबीच पहल आबश्यक भएको उल्लेख गरे। साथै गौतमले कांग्रेसको बिधान र नियमाबलीमा संसोधन गरेर पार्टीको क्रियाशील सदस्यताको निरन्तरता तथा महाधिबेशनमा प्रतिनिधित्वको सुनिश्चितता गरिनु पर्नेमा नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

प्रतिष्ठानले १३ औं गणतन्त्र दिवसका अबसरमा सात वटै प्रदेशमा जुम कन्फरेन्स सम्पन्न गरेकाे छ।