८ बैशाख २०८१, शनिबार
Follow Us

ट्रम्पद्वारा अमेरिकामा भइरहेको प्रदर्शनलाई आतंकको संज्ञा

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७७, मंगलवार ०३:५४

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भैरहेका प्रदर्शन कुनैपनि हालतमा रोक्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा भएको पत्रकार सम्मेलनमा उनले प्रदर्शनको क्रममा भएका झडप, लुटपाट, तोडफोड, नियन्त्रण गरिने बताएका हुन् ।

ट्रम्पले प्रदर्शन रोक्नका लागि हजारौं सेना र प्रहरी परिचालन गरिने पनि बताए । मेरिकालाई पछिल्ला दिनमा अराजकतावादी, हिंस्रक भिड, लुटपाट, आगजनी गर्नेहरु, अपराधीसहितले जकडेको आरोप पनि लगाएका छन् । उनले संघीय राज्यहरुले त्यसलाई नियन्त्रणमा लिन नसकेको आरोप पनि लगाए । नियम तोड्नेहरुलाई पक्राउ गरिने उनले बताएका छन् ।

ट्रम्पले प्रदर्शनलाई ‘आतंक’ को शंज्ञा दिँदै संलग्नहरुलाई आपराधिक सजाय हुने र लामो समय जेलमा राखिने बताए ।जर्ज फ्लोइडको सम्झना आक्रोशित भिडले गर्ने दंगाबाट हुन नसक्ने उनको भनाइ छ ।

मे २५ मा अफ्रिकी मुलका फ्लोइडको मिनेशोटा राज्यको मिनियापोलस प्रहरी हिरासतमा मृत्यु भएपछि अमेरिकाभर हिंसा भडकिएको छ । कर्फ्यू लगाए पनि प्रदर्शनकारीले विभिन्न राज्यमा प्रदर्शन गरेका छन् ।

फ्लोइडको हत्याका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन् । स्पेनको बार्सिलोनाबाहेक बेलायत र बर्लिनस्थित अमेरिकी दूतावासबाहिर पनि मानिसहरूले प्रहरीको दमनलाई लिएर विरोध प्रदर्शन गरेका छन् ।