१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विदेशबाट आउने नेपालीका लागि मापदण्ड तयार, व्यवस्थापनको जिम्मा सेनालाई

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७७, मंगलवार ०४:०३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस संक्रमणपछि स्वदेश फर्कन चाहानेका लागि मापदण्ड तयार पारेको छ । सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने सहितका मापदण्ड तय भएका हुन् ।

भारतबाहेकका मुलुकबाट आउने यात्रुले हवाई उडान भाडा, यातायात र होटलमा बसेमा त्यसको खर्च स्वयं बेहोर्नु पर्नेछ । यसैगरी, भारतबाट आउनेहरू यातायात र होटल क्वारेन्टिनको खर्च पनि स्वयं बेहोर्नु पर्नेछ ।

अति नै समस्यामा परेका झण्डै २५ हजारलाई तत्काल ल्याउने योजना सरकारको छ । विदेशबाट आउनेहरूलाई काठमाडौँमा राख्नका लागि बनाइने होल्डिङ सेन्टरको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

स्वास्थ्य जाँच गर्दा सामान्य देखिएका मानिसहरुलाई पनि नेपाली सेनाकै समन्वयमा जिल्ला सदरमुकामसम्म पुर्‍याउने व्यवस्था हुने भएको छ ।

फर्कनेलाई राख्नका लागि सम्बन्धित स्थानीय तहले नै क्वारेन्टिनको व्यवस्था गर्ने छन् । क्वारेन्टाइनमा बस्नेले शुल्क तिर्नु पर्दैैन तर स्थानीय तहमा क्वारेन्टिनका लागि तोकिएका होटलमा बस्न चाहनेले भने लाग्ने खर्च स्वयंले तिर्नुपर्नेछ ।