७ बैशाख २०८१, शुक्रबार
Follow Us

सान्चोको ह्याट्रिक

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७७, मंगलवार ०४:०७

म्युनिख ।  बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा रेलिगेसन जोनमा रहेको पाडेरवर्नमाथि ६–१ को सानदार जित निकालेको छ ।  इंग्लिस युवा मिडफिल्डर जाडोन सान्चोको ह्याट्रिक गरेका थिए । जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्नसँगको अंक दूरी ७ मा छोट्याउँदै उपाधिको झिनो आशा देखाएको छ । डर्टमुन्डको २९ खेलबाट ६० अंक पुगेको छ । बायर्नको ६७ अंक छ । पराजित पाडेरवर्न १९ अंकसहित पुछारमा छ ।

बेन्टेलेर एरिना पाडेरवर्नमा आइतबार राति भएको खेलमा सान्चोले ह्याट्रिक पूरा गर्दा थोर्गन हजार्ड, अचरफ हाकिमी र मार्सेल स्मेल्जरले समान एक गोल गरे । घरेलु टोलीका हुवी हनिमिएरले सान्त्वना गोल फर्काए । घरेलु टोलीविरुद्ध खेलको सुरुवातदेखि नै पकड जमाए पनि डर्टमुन्डले गोलका लागि दोस्रो हाफमा नै कुर्नुपर्दा सबै ७ गोल दोस्रो हाफमा नै सम्भव भएको थियो । ५४औं मिनेटमा थोर्गन हजार्डले गोल गर्दै खेलमा गोलको खडेरी तोडेका थिए । इम्री क्यानको प्रहारलाई पाडेरवर्नका गोलरक्षक लियोपोल्डले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई हजार्डले खाली पोस्टमा गोल गर्न सफल भएका थिए । ५७औं मिनेटमा जुलियन ब्रान्डको पासमा सान्चोले गोल गर्दै अग्रता दोब्बर पारे ।

७२औं मिनेटमा हुवी हनिमिएरले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । महामेदको प्रहारलाई इम्री क्यानले पेनाल्टी बक्समा ब्लक गर्न खोज्दा ह्यान्ड गर्न पुग्दा रेफ्रीले पेनाल्टीका मौका दिएका थिए । जसलाई ह्वील सदुपयोग गरे । त्यसको दुई मिनेटपछि नै हजार्डको पासमा सान्चोले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डलाई खेलमा ३–१ ले अघि बढाए । ८५औं मिनेटमा मार्सेल स्मेल्जरको पासमा अचरफ हाकिमीले गोल गर्दै डर्टमुन्डलाई फराकिलो जिततर्फ अघि बढाए । ८९औं मिनेटमा स्मेल्जरले गोल थपेपछि डर्टमुन्डले खेलमा ५–१ ले अग्रता बनायो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सान्चोले ह्याट्रिक पूरा गर्दै डर्टमुन्डलाई ६–१ को सानदार जित दिलाए । बुन्डेस लिगामा उच्च गोलकर्ताको सूचीमा तेस्रो स्थानमा रहेका सान्चोको २७ खेलमा १७ गोल पु¥याएका छन् । जारी सिजनमा उनले ३९ खेलमा २० गोल गर्दा १४ असिस्ट पनि दिएका छन् । उनीभन्दा अघि बायर्नका लेवान्डोस्की (२९) र आरबी लाइप्जिगका टिमो वेर्नर (२४) अघि रहेका छन् ।

सान्चो र हाकिमीले आफ्नो गोल अमेरिकामा जातीय हिंसामा परी मृत्यु भएका जर्ज फ्लोएडप्रति समर्पित गरेका थिए । फ्लोएडको मृत्युपछि अमेरिकी सडकमा ठूलो विरोध प्रदर्शन भइरहेको छ । डेरेक चौविन (बर्दी)लाई फ्लोएडको हत्याको आरोप लगाइएको छ । कारको मुनि च्यापिएको अवस्थामा रहेका उनलाई ती बर्दीधारीले घाँटीमा घुँडाले च्यापिरहेको तस्बिर बाहिरिएको थियो ।