८ बैशाख २०८१, शनिबार
Follow Us

फ्लोयडको समर्थनमा ऐक्यबद्धता

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०७७, बिहीबार १०:५६

लन्डन । प्रहरी हिरासतमा हत्या गरिएका जर्ज फ्लोयडको समर्थनमा इंग्लिस क्लब चेल्सी र लिभरपुलसँगै विश्वभरबाट खेलाडीहरूले ऐक्यबद्धता जनाएका छन् । सोमबार लिभरपुलका २९ खेलाडीहरूले प्रशिक्षण अघि एकतामा बल हुन्छ भन्ने सन्देशसहित फ्लोयडको समर्थनमा रंगभेदविरुद्ध आवाज दिदा लन्डन क्लब चेल्सीले अंग्रेजी अक्षर ‘एच’ को बनावटमा ‘एच’ अर्थात् मानव आकार तयार पारेर ऐक्यबद्धता जनाएका हुन् ।

फुटबलरहरूले मात्रै होइन क्रिकेट, बास्केटबल, फुर्मला वान, गल्फलगायत अन्य खेलका विश्वचर्चित खेलाडीहरूले पनि सामाजिक सञ्जालमार्फत रंगभेदविरुद्ध आवाज उठाइरहेका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोउल पोग्बा र मार्कस रासफोर्डले पनि रंगभेदविरुद्ध भइरहेका आन्दोलनको समर्थनमा आवाज उठाइरहेका छन् । जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमुन्डका जाडोन सान्चो, अचरफ हाकिमी र बोरुसिया मोन्चेनग्लाडवाचका मार्कुस थुरामले गोल गरेपछि आफ्नो गोल फ्लोयडप्रति समर्पित गरेका थिए ।

सान्चो र हाकिमीले सर्टमा ‘जस्टिज फर फ्लोयड’को माग गरेर उनले गोलको सेलिब्रेसन गरेका थिए । थुरामले गोलपछि घुडा टेक्दै शिर निहुराएका थिए । यस्तै, रिहान ब्रिस्टर, टेनिस स्टार सेरेना विलियम्स, कोको गोफ, नाओमी ओसाका, बास्केटबल लिजेन्ड माइकल जोर्डन, फर्मुला वान खेलाडीहरू चाल्र्स, कार्लोस, जर्ज रुसेल, ड्यानियल रिकार्डो लगायत दर्जनौं स्टार खेलाडीहरूले रंगभेदविरुद्ध आवाज उठाइरहेका छन् । जर्ज फ्लोयडको न्यायका लागि विश्वभर आवाजहरू उठिरहँदा अमेरिकामा विरोध प्रदर्शन भइरहेका छन् ।

यता, विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले हरेक देशका लिगसम्बद्धलाई खेलाडीहरूले पछिल्लो समय गरिरहेका विरोधमा ‘व्यावहारिक ज्ञान’ प्रयोग गरेर व्यवहार गर्न आग्रह गरेका छन् । विशेष गरी अमेरिकामा प्रहरी हिरासतमा मारिएका जर्ज फ्लोयडको न्यायका लागि भइरहेका विरोधमा खेलाडीहरूले ऐक्यबद्धता जनाइरहेका छन् । फिफाले मंगलबार एक सन्देश जारी गर्दै पछिल्लो समय भइरहेका अवस्थाका बारेमा आफूहरू जानकार रहेको र विशेष गरी जर्ज फ्लोयडको दुःखद अवस्थाले निम्त्याएको परिस्थितिमा लिग सम्बद्धहरूले व्यावहारिक ज्ञानको प्रयोग गर्नुपर्ने जनाएको छ । ‘फिफाका कतिपय नियमहरू परिस्थितिजन्य अवस्थाका कारण लिग आयोजकहरूले नै व्यावहारिक ज्ञान प्रयोग गरेर अघि बढ्नुपर्ने देखिएको छ ।