१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज यूएई र म्यानमारमा अलपत्र नेपालीलाई स्वदेश ल्याइँदै

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०७७, शुक्रबार ०३:२८

काठमाडौं। सरकारले लकडाउनका कारण विदेशमा अलपत्र परेका नागरिकलाई आजबाट उद्दार गर्ने भएको छ । पहिलो चरणमा आज यूएई र म्यानमारमा रहेका नेपाली फर्काइने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार यूएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी २ सय १४ जनालाई आज काठमाडौं ल्याँइदैछ ।

म्यानमारले आफ्ना नागरिक लिन आउने विमानमै नेपालका ३५ जनालाई ल्याइदिने भएको हो । यूएईले आजदेखि आठ वटा चार्टर फ्लाइटमा नेपालीलाई फर्काउन लागेको हो । यूएईबाट ४ हजार नेपाली फर्कने तयारीमा छन् ।

कुवेतममा रहेका करिब तीन हजार श्रमिकलाई पनि त्यहीको सरकारले नेपाल पठाइदिने भएको छ । आममाफी पाएका कामदारलाई कुवेत सरकारले फिर्ता गर्ने भएको हो । कुवेतबाट करिब ५ हजार नेपाली घर फर्कने प्रतिक्षामा रहेका छन् ।

पहिलो चरणमा सरकारले समस्यामा रहेका करिब ४० हजार नाागरिकलाई स्वदेश फर्काउने तयारी गरेको छ । कुवेत र साउदी अरेबियाबाट आठ–आठ हजार फर्कने तयारीमा छन् । कतारबाट ११, मलेसियाबाट ७ हजार र साइप्रसका चार सय पनि फर्कने सुचीमा छन् ।

त्यस्तै अध्ययनको शिलशिलामा रहेका १५ सय बढी विद्यार्थीहरु स्वदेश फर्किन तयार छन् । एक दिनमा एक मुलुकमा एक उडान गरी १० वटा उडानमार्फत् उद्दार गर्ने सरकारको तयारी छ । नेपाल वायुसेवा निगमका ४ र हिमालयन एयरलाइन्सका ४ वटा विमान उद्धारका लागि तयार गरिएको छ ।

विमानस्थलमा ओर्लेपछि भक्तपुर, ललितपुर र काठमाडौंका ९ वटा पार्टी प्यालेसमा उनीहरुलाई राख्ने तयारी छ । त्यसपछि स्थानीय तह र प्रहरीको सहयोगमा उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा पठाइने छ ।