११ बैशाख २०८१, मंगलवार
Follow Us

अभिनेत्री मनीषा काठमाडौंको होटल क्वारेन्टाइनमा

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०७७, शुक्रबार ०३:५८

काठमाडौं । अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंमा होटल क्वारेन्टाइनमा छिन् । मंगलबार राति काठमाडौं आएकी उनी आफ्ना परिवारसहित होटलमा बसेकी हुन् । दुई साताअघि भारतीय मिडियाबाट निकै घोचपेच झेलेकी उनी केही समय परिवारसँग बिताउन नेपाल आएकी हुन् ।

अभिनेत्री मनीषा मुम्बईबाट बनारससम्म हवाई जहाजमा र बनारसबाट आफ्नो निजी गाडीमा नेपाल आएकी हुन् । बनासरबाट स्थलमार्ग हुँदै उनी मंगलबार रूपन्देहीको सीमानाका भैरहवाको बेलहिया हुँदै उनी बुबा प्रकाश कोइराला, आमा र काकीसँग नेपाल आएकी हुन् । नेपाल आएपछि उनी होटलमा क्वारेन्टाइनमा बसेकी छन् । मनीषाको पारिवारिक सूत्रका अनुसार उनी उच्च सतर्कताका साथ काठमाडौंको एक होटलमा बसेकी छन् ।

विदेशबाट नेपाल आएपछि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी नियम रहेको छ । सोही नियमलाई पालना गर्दै आफ्नो घर पनि नगई अभिनेत्री मनीषा, आफ्ना बुबाआमासँग होटल क्वारेन्टाइनमै बसेकी छन् ।

परिवारका अनुसार कोरोना संक्रमणका कारण भारतमा लकडाउन चलिरहेको बेला परिवारसँग घरमा आराम गर्न अभिनेत्री मनीषा कोइराला नेपाल आएकी हुन् । आफ्ना परिवारसँगै अभिनेत्री मनीषाले क्वारेन्टाइनबाटै कोरोना भाइरस परीक्षणका लागि आफ्नो स्वाब पनि ल्याबमा पठाएका छन् । उनीहरूको कोरोना भाइरसको रिपोर्ट शुक्रबारसम्म आउने आशा गरिएको छ । विशेष गरेर भारतबाट आउने नागरिकलाई सरकारले कोरोना भाइरस परीक्षण अनिवार्य गरेका कारण मनीषा र उनका परिवारले पनि कोरोनाको परीक्षणका लागि स्वाब पठाएका हुन् ।

अहिले क्वारेन्टाइनमा रहेका कारण उनले निश्चित दूरी बनाएर खास आफन्तबाहेक अरूसँग भेटघाट गरेकी छैनन् । क्वारेन्टाइनको १४ दिनपछि मात्र उनले अरूलाई भेट्ने बताएकी छन् । त्यसपछि उनी आफ्नो घर जानेछिन् । दुई साताअघि नेपाल सरकारले जारी गरेको नेपालको नयाँ नक्साबारे सकरात्मक प्रतिक्रिया दिएपछि उनीविरुद्ध भारतीय मिडिया खनिएका थिए ।

अभिनेत्री मनीषाले त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई रि–ट्वीट गरेकी थिइन् । ट्वीटरमा रि–ट्वीट गर्ने क्रममा अभिनेत्री मनीषाले ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईंलाई धन्यवाद । अब तीन महान् राष्ट्रहरूबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएको हेर्न हामी सबै इच्छुक छौं ।’ भनेर लेखेकी थिइन् । उनले गरेको यही ट्वीटलाई लक्षित गरेर मनीषा नेपालको पक्षमा लागेको भन्दै भारतीय मिडियाहरू मनीषाको विरुद्ध लागेको हुन् ।
राजधानी दैनिकबाट