१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सबैको शव अंगभंग भएको अवस्थामा भेटिए

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७७, शनिबार ०३:५७

जाजरकोट । पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक हत्याकाण्ड घटाइएको हुन सक्ने आशंका गरिएको छ ।

घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै शव घाइते र विभिन्न अंगमा गम्भीर चोट लागेको अवस्थामा फेला परेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।

नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको छ । गत १० जेठमा पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा नवराजकी पे्रमिकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृत्य भएको छ ।

अन्य सबै जना घाइते छन् । घाइतेहरूको भनाइअनुसार सोतीमा वडा अयक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा रहेको गाउँलेको समूहले चौैतर्फी घेरा हालेर ती युवालाई आक्रमण गरेका हुन् । केही युवा भाग्न सफल भए पनि युवतीका प्रेमी भनिएका नवराजसहित ६ जनालाई गाउँलले कब्जामा लिएर आक्रमण गरी भेरीमा बगाएको घाइते सुदीप खड्काले बताए । ‘हामी धन्न ज्यान जोगाउन सक्यौं, अरुलाई मारेर भेरीमा हालेछन्,’ खड्काले राजधानीसँग भने ।

मृतकहरूको शव क्षतविक्षत अवस्थामा फेला परेसँगै सोती घटनाबारे विभिन्न निकायबाट छनबिन र अनुसन्धान सुरु भएको छ । मृतकका आफन्त र शव खोजबिनमा संलग्नहरूको भनाइअनुसार टाउको र निधारमा गहिरो चोट लागेको, दाहिने हात भाचिएको र शरीरभरि निलडाम परेको अवस्थामा नवराजको शव फेला परेको थियो । यस्तै, अर्का मृतक गणेशको शव टाउकोको पछाडि भागमा गहिरो चोट लागेको, दाइने हात धारिलो हतियारले ३ ठाउमा काटेको, आँखा फुटेको, निधारमा चोटपटक लागेको अवस्थामा फेला परेको हो ।

यस्तै, मृतक टीकारामको एउटा आँखा फुटेको, कन्चट, टाउको र कोखामा चोट लागेको अवस्थामा शव फेला परेको हो । अण्डकोष र टाउकोमा गहिरो चोट, प्लास्टिकको डोरीले दुवै हात बाँधेको र शरीरमा निलडाम भएको अवस्थामा लोकेन्द्रको शव फेला परेको थियो ।

सन्दीपको शव धारिलो हतियारले घाटीमा हानेर पछाडिको भागमा गम्भीर घाउ लागेको, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको छ । घटनाको १० दिनपछि फेला परेका गोविन्द शाहीको शव दाँत भाँचिएको, हात भाँचिएको र मुखमा मुकुन्डो लगाएर बगाएको अवस्थामा फेला परको नेपाली कांग्रेस जाजरकोट क्षेत्रका सचिव छवि पन्तले जानकारी दिएका छन् ।

६ युवाको सामूहिक मृत्यु पछि जाजरकोट जिल्ला नै शोकमग्न र आक्रोशित छ । घटनाको सत्यथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै दिनहुँजसो सदरमुकाममा आन्दोलन हुँदै आएको छ । कथित दलित नवराजले कथित ठकुरी युवतीसँग प्रेम गरेकै कारण घटना भएको भन्दै दलित समुदाय र अधिकारकर्मीको आन्दोलन पनि जारी छ । अर्कोतर्फ अनुसन्धान र छानबिन पनि जारी छ ।

हाल राष्ट्रिय मानवाधिकार आयोगको टोली, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, सरकारद्वारा गठित उच्च स्तरीय छानबिन समिति र अन्य निकायबाट पनि घटनाको छानबिन भइरहेको छ । घटना सामूहिक हत्याकाण्ड भएकाले मृतकहरूलाई सांस्कृतिक सहिद घोषणा गर्न दलित अधिकारकर्मीले माग गर्दै आएका छन । घटनामा आरोपित चौरजहारी नगरपालिका–८ का वडा अध्यक्ष मल्लसहित १८ जनाई रुकुम प्रहरीले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।

संसदीय छानबिन समिति गठन
काठमाडौं । सोती घटनाको छानबिन गर्न संसदीय समिति गठन गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ संसदीय समिति गठन गर्न माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले समिति गठनको घोषणा गरेका हुन् ।

प्रतिनिधिसभाको नियमावली १७७ बमोजिम संसदीय विशेष समिति गठन हुने सभामुख सापकोटाले सदनलाई जानकारी दिए । सो समितिमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलबाट प्रतिनिधित्व हुनेछ । दलहरूसँग परामर्श गरी समितिमा रहने सदस्यहरू तय गरिने उनले बताए ।

१० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन जाजरकोटबाट गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो ।

उनीहरूलाई गाउँलेले कुटपिट गरी भेरी नदीमा फालेको पीडित पक्षको दाबी छ । अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनालाई प्रमुख विपक्षी कांग्रेसले नरसंहारको संज्ञा दिँदै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका थियो । शुक्रबारको बैठक सुरु हुनासाथ सचेतक पुष्पा भुसालले संसदीय समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएकी थिइन् । लगत्तै सभामुख सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् ।
बीरबहादुर गिरी/राजधानी दैनिकबाट