६ बैशाख २०८१, बिहीबार
Follow Us

मनीषाको कोरोना रिपोर्ट नेगेटिभ

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०७७, आईतवार ०३:३२

काठमाडौं । गएको मंगलबार काठमाडौं आएकी अभिनेत्री मनीषा कोइरालाको कोरोना भाइरस रिपोर्ट आएको छ । उनले बुधबार आफु र परिवारको कोरोना भाइरस परीक्षणको लागि स्वाब दिएकी थिइन् । उनको शनिबार आएको रिपोर्टमा कोरोना भाइरस नेगेटिभ छ ।
आहिले आफू कोरोना भाइरसमुक्त भए पनि नेपाल सरकारको नियमलाई ग्रहण गर्दै आफूले क्वारेन्टाइनको १४ दिनको बसाइ पूरा गर्ने यी अभिनेत्रीले बताएकी छन् । उनी क्वारेन्टाइनमा बसेको पाँच दिन भएको छ । अझै नौ दिन बसेपछि मात्र आफू र परिवार क्वारेन्टाइनबाट घर जाने यी अभिनेत्रीले बताएकी छन् ।

गएको मंगलबार राति काठमाडौं आएकी उनी आफ्ना परिवारसहित होटल क्वारेन्टाइनमा बसेकी छन् । उनी बुबा प्रकाश कोइराला, आमा र काकीसँग नेपाल आएकी हुन् र उनीसहित अरू चार जना होटल क्वारेन्टाइनमा रहेका छन् ।

यता नेपाल सरकारले विदेशबाट नेपाल आएकाहरूलाई कम्तीमा पनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम लगाएको छ । सो नियमलाई अभिनेत्री मनीषाले पूर्ण पालना गर्ने बताएकी छन् । आफूसँगै क्वारेन्टाइनका बसाइमा परिवारको सदस्यले पनि साथ दिएको मनीषाले बताएकी छन् ।

अहिले क्वारेन्टाइनमा रहेका कारण उनले निश्चित दूरी बनाएर खास आफन्तबाहेक अरूसँग भेटघाट गरेकी छैनन् । क्वारेन्टाइनको १४ दिन सम्पन्न भएपछि मात्र उनले अरूलाई भेट्ने बताएकी छन् । त्यसपछि उनी आफ्नो घर जानेछिन् ।

सुरुमा कोरोना भाइरस रिपोर्ट नेगेटिभ आए पनि पछि फेरि पोजेटिभ देखिएका घटनाहरू सबैलाई थाहैै छ । अहिलेको अवस्थामा जोखिम नमोली पूर्ण रूपमा क्वारेन्टाइनको नियम आफूले पालना गर्ने पनि उनले बताएकी छन् ।

  • राजधानी दैनिकबाट