१३ बैशाख २०८१, बिहीबार
Follow Us

४५ होटलमा क्वारेन्टाइनको व्यवस्था

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०७७, आईतवार ०३:४४

काठमाडौं । विदेशबाट नेपाल आएका नेपालीहरूले आफ्नै खर्चमा बस्न चाहनेहरूका लागि सरकारले होटलको सूची प्रकाशन गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४५ वटा होटलको सूची सार्वजनिक गरेका हो ।

जसमा चारतारेदेखि पर्यटकीय स्तरका होटल रहेका छन् । होटल संघ नेपालले सरकारलाई बुझाएको होटलको विवरणका अनुसार काठमाडौं जिल्ला प्रशासनले सूची जारी गरेको हो । आफ्नै खर्चमा नेपाल आएर आफैं खर्च गरेर क्वारेन्टाइनमा बस्न चाहनेलाई सरकारले होटलमा राख्ने निर्णय गरेका थियो । सोहीअनुसार होटल संघ नेपालले पनि होटलका रुम क्वारेन्टाइनका लागि दिने निर्णय गरेका थिए । जसमा चारतारे होटल ग्रान्डादेखि पर्यटकीय होटलसम्म रहेका छन् ।

होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले काठमाडौं जिल्ला प्रशासनले होटलको सूची सार्वजनिक गरे पनि होटलसँग समन्वय भने नभएको बताए । सरकारलाई बुझाउन ‘समन्वय देखिएको छैन,’ उनले भने, ‘समुदायबाट विरोध हुने अवस्था आएको छ । त्यसको सरकारले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’

टोलटोलमा होटल भएको ठाउँमा बाहिरबाट आएका मानिसलाई वडा कार्यालयको स्वीकृत नलिइकन नराख्न भन्दै सूचना जारी भएको छ । तर, यसमा सरकारले कुनै समन्वय नगरेको शाह बताउँछन् । त्यसमा पनि कहिलेबाट कति आउने हो भन्ने विवरण पनि नपाएको उनको भनाइ छ ।

‘पहिलो चरणमा नगरकोट, धुलिखेल पोखराका होटलमा राख्ने कुरा थियो,’ उनले भने, ‘तर, काठमाडौंकै होटलको सूचना प्रकाशन भएछ ।’ सरकारले समन्वय नै नगरेका कारण राति १२ बजे फोन आयो भने कसरी व्यवस्थापन गर्ने शाहको तर्क छ । काठमाडौंबाहेक एउटा पोखरा र एउटा रुपन्देहीको होटलको नाम सूचीमा रहेको छ ।

चारतारे होटलको एक बेड भएको रुमका लागि ८ हजार र दुई बेड भएका रुमका लागि प्रतिबेड ५ हजार ५ सय रुपैयाँ तोकेका छन । यसैगरी तीनतारे होटलमा एक्लै बस्न चाहनेका लागि ६ हजार र २ जना बस्न चाहनेका लागि प्रतिव्यक्ति ३ हजार ५ सय निर्धारण भएको हानले जनाएको छ । दुईतारे होटलमा एक्लै बस्न चाहेका लागि ५ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तय भएको छ । यसमा चारपटकसम्मको खाना र खाजा पनि समावेश हुनेछ । एकतारेका हकमा भने एक्लै बस्न चाहनेका लागि ४ हजार र दुई जना बस्दा प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ छ ।

पर्यटकीय स्तरका होटलको हकमा एक्लैका लागि ३ हजार र दुई जनाको लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको भएको छ । यो मूल्यमा करसमेत जाडिएको हानले जनाएको छ । विदेशबाट आउनेले सुविधा सम्पन्न क्वारेन्टाइनमा बस्न चाहेमा रकम तिरेर होटलको क्वारेन्टाइनमा बस्न सक्नेछन् भने अन्यलाई सरकारी क्वारेन्टाइनमा निःशुल्क राखिनेछ । सरकारले कोरोनाका कारण भिसाको समय सकिएका तथा विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने निर्णय अनुसार पहिलो चरणमा १ सय ९४ जना नेपालीलाई स्वदेश ल्याइसकेको छ । पहिलो चरणमा म्यानमारबाट २६ जना र दुबईबाट १ सय ६८ जना नेपालीलाई ल्याएको छ ।

मधुजंग पाण्डे/राजधानी दैनिकबाट