१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना नियन्त्रणमा सरकार असफल, कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०७७, बुधबार १०:२७

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको ठहर गर्दै गम्भिरता देखाउन ध्यानाकर्षण गराएको छ । कोरोना महामारीले पार्ने अल्पकालिन र दीर्घकालिन समस्याको विषयमा प्रधानमन्त्री केपी ओलीलाई कांग्रेसले आज ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रधानमन्त्री ओलीलाई बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाएपछि कांग्रेस नेताहरुले संक्रमण देखिएको साढे चार महिना वित्दा पनि सरकारले तदारुकताका साथ काम गर्न नसकेको बताए ।

ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री केपी ओलीले प्राप्त सुझावहरुलाई गम्भिरताका साथ लिएको प्रतिक्रिया दिएका छन । कोरोना नियन्त्रणका लागि प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने आश्वासन पनि दिएका छन् । सरकारले अग्रपंक्तिमा रहेर काम गर्नेहरुका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाउन नसकेको, क्वारेन्टाइनहरुको उचित व्यवस्थापन गर्न नसकेको, उचित ढंगले परीक्षण नभएको कांग्रेसको आरोप छ ।

लकडाउनको साढे २ महिनाभन्दा बढी समय वित्दा समेत सरकारले अस्पतालहरुको गुणस्तर सुधार गर्न नसकेको, मापदण्ड अनुसार आइसोलेसनको व्यवस्था गर्न नसकेको विषयमा कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तत्काल आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन, अस्पतालको क्षमता र गुणस्तर वृद्धि गर्न, उचित ढंगले राहत वितरण गर्न सरकारलाई सुझाव दिएको छ ।