८ बैशाख २०८१, शनिबार
Follow Us

नायिका निरिशालाई कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७७, बिहीबार ११:४८

काठमाडौं । अभिनेत्री निरिशा बस्नेतले आफू कोरोना संक्रमित भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफू कोरोना संक्रमित भएको र अस्पतालमा उपचारको क्रममा रहेको जानकारी गराएकी छन् ।

नेपाली चलचित्र ‘जानी नजानी’बाट नायिकाकी रूपमा अभिनय यात्रा थालेकी निरिशा अग्रज अभिनेता विश्व बस्नेतकी छोरी हुन् । उनी केही समयदेखि मुम्बईमा छिन् । मुम्बईमा काम गर्ने क्रममा आफू कोरोना संक्रमित भएको यी अभिनेत्रीले जनाएकी छन् ।

‘थाहै नपाई म पनि कोरोना संक्रमित भएछु । अहिले अस्पतालमा उपचार गराइरहेकी छु र अहिले आत्तिनुपर्ने अवस्था छैन,’ उनले सामाजिक सञ्जालमा भनेकी छन् । कोरोनाको लक्षण देखिएपछि कोरोना भाइरस परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको उनले बताएकी छन् । उनी हाल मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेकी छन् ।

अभिनेत्री निरिशा पछिल्लो तीन वर्षदेखि मुम्बईमै सक्रिय छिन् । उनले चर्चित भारतीय टेलिशृंखला प्रेम नन्दिनीसहित थुप्रै टेलिसिरियलमा नायिका भएर काम गरिसकेकी छन् । उनी मुम्बईमा टेलि चलचित्रसँगै मोडलिङमा पनि क्रियाशील छिन् । आफू बलिउड सिनेमाका लागि कोसिस गरिरहेको उनले बताएकी छन् । दुई वर्षअघि नेपाली चलचित्र ‘जानी नजानी’को सुटिङ र रिलिजका लागि उनी नेपाल आएकी थिइन् । त्यसपछि पनि उनले पूरा समय मुम्बईमै दिएकी छन् ।
राजधानी दैनिकबाट