१३ बैशाख २०८१, बिहीबार
Follow Us

एक सय प्राविधिकलाई अभिनेता अभिनेत्रीको आर्थिक सहयोग

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७७, शनिबार ०४:०८

काठमाडौं । लकडाउन खुकुलो भएपछि नेपाली चलचित्रका कलाकारहरूले हिजो शुक्रबार काठमाडौंमा एक समारोहबीच प्राविधिकहरूलाई आर्थिक सहयोग गरेका छन् । विगतमा विभिन्न खाद्यान्न सामग्री प्रदान गरेका कलाकारले शुक्रबार भने प्राविधिकलाई आर्थिक सहयोग नै प्रदान गरे ।
अभिनेताहरू रमेश उप्रेती, दीपकराज गिरी, जितु नेपाल, अभिनेत्रीहरू केकी अधिकारी, ऋचा शर्मा, स्वस्तिमा खड्का, दीपाश्री निरौलासहित विभिन्न सिनेकर्मीलाई शुक्रबार एक औपचारिक कार्यक्रमबीच प्राविधिकलाई सहयोग गरेका हुन् । उनीहरूले ३ लाख रुपैयाँ संकलन गरेर १ सय जना प्राविधिकलाई सो रकम दामासाही रूपमा प्रदान गरे ।

‘नेपाली चलचित्र उद्योग ठप्प भएको बेला हामीलाई गाह्रो छ भने ज्याला मजदुरी गर्ने चलचित्रका प्राविधिकहरूलाई झनै गाह्रो छ भनेर हामीले व्यक्तिगत रूपमा आर्थिक संकलन गरेर आज यो रकम प्रदान गरेका हौं,’ कलाकार जितु नेपालले भने ।

‘खाद्यान्न सहयोग उहाँहरूलाई प्राप्त विगतमा भए पनि आर्थिक अभावले कोठा भाडा तिर्नेदेखि ग्याँस किन्नेसम्म विभिन्न समस्या थियो । त्यो समस्या देखेर नै हामीले आपसमा आर्थिक संकलन गरेर नगद सहयोग गरेका हौं,’ सो सहयोगबारे अभिनेत्री केकी अधिकारीले राजधानीलाई बताइन् । आफूहरूले १ सय जनालाई जनही ३ हजार रुपैयाँ प्रदान गरेको पनि अभिनेत्री अधिकारीले बताइन् ।

जितु र केकीसहित कलाकारहरू रमेश उप्रेती, दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा), ऋचा शर्मा, स्वस्तिमा खड्का, दीपाश्री निरौला, गौरव पहारी, साकार पन्त, अनुराग कुँवर, चलचित्र निर्माता निसान बजगाईं, सुमन गिरी, सञ्चारकर्मी लक्ष्मण सुवेदी र अनुप भट्टराईले ३ लाख रुपैयाँ जम्मा गरेर कलाकारलाई प्रदान गरेका हुन् ।

सो कार्यक्रमका संयोजक तथा नेपाल चलचित्र संघका अध्यक्ष पुष्कर लामाले आर्थिक अभावका कारण कतीपय प्राविधिकलाई घरबेटीले निकाल्न लागेको बेला यो रकमले पनि केही रहत पुग्ने बताए । संघका निवर्तमान अध्यक्ष मनोज केसीले पनि कलाकारहरूको यो सहयोगले प्राविधिकहरूलाई आफूलाई गाह्रो पर्दा चलचित्रमै सहयोगी हातहरू छन् भन्ने महसुस भएको बताए ।

मुलुकमा लकडाउन भएको पनि ८२औं दिनसम्म पुग्दा आफूहरूले ठूलो आर्थिक संकट झेलेको धेरै प्राविधिकहरूको गुनासो थियो । आफूहरूलाई प्राप्त यो सहयोगबाट धेरैजसो प्राविधिकले कोठा भाडा तिर्ने बताए ।
राजधानी दैनिकबाट