७ बैशाख २०८१, शुक्रबार
Follow Us

आन्दोलनले संक्रमण फैलने अभिनेत्री प्रियंकाको चिन्ता

नेपालब्रिटेन संवाददाता
३२ जेष्ठ २०७७, आईतवार ०३:५४

काठमाडौं । केही दिनदेखि काठमाडौं केन्द्रित युवाहरूको आन्दोलनप्रति अभिनेत्री प्रियंका कार्कीले चिन्ता व्यक्त गरेकी छन् । उनले यो सरकारविरोधी आन्दोलनमा युवाहरूले कोरोनाबाट आफ्ना सुरक्षामा ध्यान नदिएको बताएकी छन् । उनले शनिबार सामाजिक सञ्जालमा लेखेर यस्तो प्रतिक्रिया जनाएकी हुन् ।

उनले लेखेकी छन्, ‘प्रदर्शनमा सामाजिक दूरी कायम नभएको पनि देखिन्छ । यस्तो हुनाले धेरै जना एकैपटक संक्रमित हुने सम्भावना धेरै हुन्छ । यदि हामी युवा संक्रमित भयांै भने हाम्रो घरमा रहनुभएका अभिभावक, ज्येष्ठ नागरिक, दीर्घरोगीलगायतलाई संक्रमण सर्ने जोखिम धेरै बढ्छ ।’

उनले परिस्थितिको गम्भीरता, बढ्दो कोरोना केस र हाम्रो देशको स्वास्थ्य पूर्वाधारको अभावलाई ध्यानमा राखेर सामाजिक दूरी कायम गर्न अनुरोध गरेकी छन्, ‘प्रदर्शनबाट ठूलो समूहमा संक्रमण स¥यो भने हाम्रा अस्पतालले थप केस धान्न नसक्ने अवस्था आउन सक्छ । कृपया, सामाजिक दूरी कायम राख्नुहोस् र सुरक्षित रहनुहोस् ।’

उनले यदि आफ्नो घरमा बिरामी, बालकालिका वा ज्येष्ठ नागरिक भएमा प्रदर्शनमा सहभागिता नदेखाउन पनि अपिल गरेकी छन् । अरू नै मध्यमबाट सरकारको गलतकार्यविरुद्ध आवाज उठाउन सकिने यी अभिनेत्रीको भनाइ छ, ‘कुनै राजनीतिक एजेन्डा वा संलग्नता नराखी हामीले यो विरोध प्रदर्शन गर्न सक्छौं । प्रदर्शनमा जाँदा सामाजिक दूरी कायम गरौं, शान्तिपूर्ण रहांै, सुरक्षित रहांै । विरोध प्रदर्शनको नाममा राजनीतीकरण नगरौं ।’ अभिनेत्री प्रियंकाले यो प्रदर्शनलाइ गम्भीरतापूर्वक लिन सरकारलाई अनुरोध गरेकी छन् ।

यी अभिनेनत्रीको भनाइमा केही दिनयता देशका विभिन्न ठाउँमा पारदर्शिता, स्पष्ट एजेन्डा र भाइरसको प्रकोपको राम्रो व्यवस्थापनका लागि सरकारमाथि दबाब दिन गैरराजनीतिक युवा आन्दोलनका रूपमा विरोध प्रदर्शन सुरु भएको हो । शतप्रतिशत पीसीआर परीक्षण, सुरक्षित क्वारेन्टाइन केन्द्र, सरकारी खर्चको पारदर्शिता र सही परीक्षणसँगै क्वारेन्टाइन सुविधाका साथ विदेशबाट फर्केका नेपालीको सुरक्षित व्यवस्थापन युवाहरूको माग रहेको पनि अभिनेत्रनी प्रियंकाले सरकारलाई स्मरण गराएकी छन्, ‘यो महत्वपूर्ण छ, धेरै जीवन जोखिममा छ र धेरै विषयमा हामी सबै सरकारसँग धेरै नै असन्तुष्ट छौं ।’

गैरराजनीतिक युवा आन्दोलनको रूपमा सुरु भएको यो प्रदर्शनले अब राजनीतिक मोड लिएको पनि उनले बताएकी छन् । प्रियंकाको भनाइमा कुनै राजनीतिक एजेन्डा वा संलग्नता नभएसम्म यो विरोध एक ठूलो पहल हो । आफूहरूले निःस्वार्थ रूपमा नेपाली जनताको सुरक्षाका लागि प्रदर्शन गरेको यी अभिनेत्रीको भनाइ छ । यो युवा आवाज र शक्तिको दुरुपयोग हुन हुन्न भन्ने उनको प्रतिक्रिया छ ।
राजधानी दैनिकबाट