July 5, 2020
2:08 AM | 6:53 AM

डाक्टर अस्मिताको काव्य सिर्जना

  15th June 2020 मा प्रकाशित

काठमाडौं । पेसाले चिकित्सक हुन्, अस्मिता अर्याल । दिनभर बिरामीको सेवामा तल्लीन रहन्छिन् उनी । जब राति घर पुग्छिन् । दिउँसो देखेको बिरामीको पीडा र अवस्थाले उनको मन उथल पुथल बनाउँछ । अनि त्यसलाई काव्यमा उतार्छिन । कविता तथा गजल सिर्जनापछि तब उनको मन हलुका हुन्छ ।

हो, नर्भिक इन्टरनेसनल अस्पताल काठमाडौंकी मेडिकल अफिसर डा. अस्मिता अर्यालको अर्को परिचय कवि हो । उमरेले अढाइ दशक पुग्दै गरेकी उनी समकालीन समस्यालाई कवितामा उन्न खप्पिस छिन् । कवितासंग्रह ‘मनको तिरैतिर’मार्फत उनले नेपाली काव्य वृत्तमा आफूलाई कविका रूपमा स्थापित गरिसकेकी छन् । दुई वर्षअघि बजारमा आएको उनको यो काव्य कृतिमा ५१ वटा कविता र १ सय १५ वटा हाइकु संगृहीत छन् । निकै चोटिला हाइकु लेख्न सिपालु अस्मिताका कवितामा सामाजिक अचेतनाको चिरफारसँग परिवर्तनका मार्गहरू सम्प्रेषित भएको देख्न पाइन्छ ।

कवि अस्मिताको भनाइमा उनको काव्य सिर्जनाकी प्रेरणा आमा मायाँदेबी अर्याल हुन् । आफ्ना बुबा हाल काठमाडौं महानगरपालिकाका प्रशासकीय प्रमुख एकनारायण अर्यालसँगै आमाको प्रेरणाले उनलाई काव्यमा अघि बढाएको हो ।

स्कुले जीवनमा उनले लेखेका कविताहरू आमाले चाख मानेर सुनिदिने गरेपछि उनलाई लेख्न जाँगर चल्थ्यो । अझ ती कवितालाई परिमार्जत गरेर पाठकसम्म पु¥याउने सारथि आमा नै थिइन् । यसै प्रसंगमा आस्मिताले भनिन्, ‘आफूले पनि लेखिरहने भएकाले ममीले नै कविता लेखनमा मलाई प्रेरणा दिनुभएको हो । पहिला उहाँले मेरा कविताहरूलाई राम्रो बनाउन सघाउनुहुन्थ्यो भने आजकल उहाँले आफ्ना कविताहरू मलाई करेक्सन गर्न दिनुहुन्छ ।’

स्याङ्जाको पुतलीबजारकी अस्मिताले काठमाडौंको भीएस निकेतन स्कुलबाट आफ्नो विद्यालय स्तरको पढाइ पूरा गरेकी हुन् । स्कुलमा हुने साहित्यिक कार्यक्रममा उनी प्रायः अब्बल ठहरिने गरेकी थिइन् । सेन्टजेभियर्स कलेज पढाइका क्रममा त उनी कलेजस्तरीय कविता प्रतियोगितामा उत्कृष्ट नै भइन्, ‘यसरी स्कुलदेखि कलेज यात्रासम्म मैले काव्य सिर्जनालाई निरन्तर अघि बढाएँ । अहिले त आफ्ना कैयौं कुरा बिर्साउने माध्यम नै कविता, गजल, हाइकु भएको छ,’ अस्मिताले भनिन् ।

यी कविलाई सामाजिक विकृति, विसंगति, नारी संवेग र आवेगलाई कवितामा उतार्न विशेष मनपर्छ । सामाजिक कुरीति, महिलामाथि हुने हिंसा, लैंगिक हिंसालाई उनी कवितामा कुँदने गर्छिन् ।

‘मुड न हो, कहिलेकाहीँ मन रोमाञ्चत हुन्छ अनि प्रेमभावलाई रोमाञ्चक रूपमा कवितामा उतारिदिन्छु,’ कवि अस्मिताले हाँस्दै भनिन्, ‘मेरो कव्या सिर्जनाको समय भनेकै अस्पतालबाट फर्केपछि घरमा आराम गर्दा तथा सुत्नुअघिको समय हो । करिब तीन महिनायता जारी लकडाउनले त काव्य सिर्जनामा प्रशस्त अवसर मिलेको छ ।’

महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि भूपि शेरचनलगायतका कविता रुचाउने उनले समकालीन कविता पढ्न त्यति नभ्याएको बताइन् । बरु उनले नेपाली उपन्यासहरू नियाल्दै फुर्सद बिताउने गरेकी छन् । लकडाउनमै फिरफिरे, राधा, सायाजस्ता उपन्यास आफूले पढ्को पनि उनले बताइन्, ‘उपन्यासमा प्रयोग हुने ठेट भाषा र प्रस्तुतीकरणले कविता सिर्जनामा शब्द चयन र त्यसको संयोजनमा मलाई निकै सहजता मिल्ने गरेको छ,’ अस्मिताले भनिन् । त्यसो त उनले उपन्यास लेखनमा कलम चलाउन थालेकी छन् । आफ्नो नयाँ उपन्यास अर्को वर्षसम्म ल्याउने उनको लक्ष्य छ ।

यसपटकको लकडाउनमा करिब तीन दर्जन कविता सिर्जना गरेकी यी कवि अबको केही महिनामा अर्को कवितासंग्रह ल्याउने पक्षमा छिन् । आफूलाई डाक्टर भनेर सम्बोधन गर्दा जुन आनन्द मिल्छ । कवि भनेर कसैले सम्बोधन गर्दा त्यत्तिकै आनन्द महसुस हुने गरेको पनि अस्मिताले बताइन् । उनलाई गजल लेख्नमा पनि त्यत्तिकै जाँगर चल्छ । पाँच दर्जन गजल सिर्जना गरिसकेकी यी डाक्टरको एउटा गजलसंग्रह पनि निकाल्ने सोच छ ।

आजकल त सहकर्मीदेखि स्रष्टादेखि पाठकसम्मले उनलाई नयाँ सिर्जनाबारे चासो राख्ने गरेका छन् । यस्ता चासोले उनलाई लेखनमा ऊर्जा मिल्ने गरेको छ । त्यसैले, बिरामीलाई दिएर बचेको समय उनी काव्य सिर्जनामा तल्लीन हुने गरेकी हुन् । बिरामीको सेवा र काव्य सिर्जनालाई सँगै अघि बढाउने अबको लक्ष्य रहेको डाक्टर अस्मिता अर्यालले बताइन् ।
डब्बु क्षत्री/राजधानी दैनिकबाट

प्रतिक्रिया