जन्नतुन निशा धुनिया, सांसद, संघीय समाजवादी फोरम नेपाल

संविधान संशोधन विधेयक संसद्मा दर्ता भएपछि ५ नम्बर प्रदेश यतिबेला आन्दोलित छ । रूपन्देहीबाट प्रतिनिधित्व गर्नुुहुने सांसद जन्नतुन निशा धुनियालाई आन्दोलनबारे प्रतिक्रिया लिन खोज्दा पार्टीको धारणा नआई आफू केही नबोल्ने बताइन् । धुनिया संघीय समाजवादी फोरम लोकतान्त्रिक पार्टीकी सांसद हुन् । संशोधनबारे तराईको असन्तुष्टि, मुस्मिल समुदायको अवस्थाबारे धुनियासँग गरिएको कुराकानी–

० संसद्मा दर्ता भएको संशोधन विधेयकबारे के भन्नु हुन्छ ?
– संसद्मा प्रस्ताव भएको भन्ने सुनेकी छु, पढ्न हातमा परेको छैन, पढेपछि प्रतिक्रिया दिउँला ।

० पत्रपत्रिकामा सार्वजनिक भइसकेको छ त ?
– पत्रपत्रिकामा छापिएको कुरालाई आधार मानेर म प्रतिक्रिया दिन असमर्थ छु ।

० पत्रिकामै छापिएको कुराले रूपन्देहीमा आन्दोलन सुरु भइसक्यो त ?
– आन्दोलन त हुने नै भयो नि । हामीले पनि आफ्नो अधिकारका लागि आन्दोलन गरेका थियौं । हतारमा जारी गरेको संविधानले यस्तै परिणाम दिन्छ ।

० संविधान बनाउन समय पुगेन भन्नुभएको ?
– समय अपुग भनेको होइन, सबैलाई मिलाएर लगेको भए के बिग्रिन्थ्यो ? मधेसको असन्तुष्टि समेटेर संविधान जारी गरेको भए कार्यान्वयन नभई दुई–दुईपटक संशोधन गर्नुपर्ने थिएन नि ।

० किन गरेको त आन्दोलन ?
– अधिकार चाहिन्छ भने आन्दोलन गर्नुपर्छ भन्ने मान्यता स्थापित भइसक्यो । कसैलाई पनि अधिकारबाट वञ्चित गराउनु हुँदैन । हामी सबै दाइभाइ हौं, समान नागरिक हौं, सबैलाई समेट्नुपर्छ, संविधानमा सबैको अपनत्व हुनुपर्छ ।

० मधेस छुट्टै चाहिएको हो ?
– तराईका २२ वटा जिल्लालाई दुईवटा प्रदेश बनाउनुपर्छ भन्ने हाम्रो माग हो । यो कुरामा मधेस आन्दोलन र त्यसपछि पनि सम्झौता भएको कुरा हो । सम्झौता भएको कुरा लागू हुनुपर्छ भन्ने हाम्रो माग छ ।

० तराईबाट पहाड अलग नगर्दा के हुन्छ ?
– तराईका नागरिकलाई जहिले अन्यायमा राख्ने, दुई सय ४० वर्षदेखि हामी अन्यायमा छौं, हामीलाई पहाडी समुदायले जहिले दबाएर राख्ने ? यो त भएन ।

० पहाडी समुदायको उन्मुक्तिका लागि स्वयत्त मधेसको माग गर्नुभएको हो ?
– सुरुमा हाम्रो माग स्वायत्त मधेस प्रदेश थियो । हाम्रा माग सबै पूरा हुनुपर्छ भन्ने होइन, यदि संविधान जारी गर्ने, त्यसलाई कार्यान्वयन गर्ने हो भने पूर्व झापादेखि कन्चनपुरसम्म दुईवटा प्रदेश बनाउने सहमति भएको थियो । त्यो सहमति राज्यले पहिला कार्यान्वयन गरोस् ।

० पहाडबाट मधेस अलग गर्दा त्यहाँका जनता कसरी अधिकार सम्पन्न हुन्छन् ?
– मधेसका जनताले राणा शासनको पालादेखि पीडा भोगिरहेका छन् । मधेसका जनता मात्र होइन, पहाडमा पनि धेरै समुदाय अधिकारबाट वञ्चित छन्, सबैलाई समान अधिकार प्राप्त होस् । सीमांकन मात्र होइन, नागरिकता र अन्य केही विषयमा पनि अहिलेको संविधानप्रति असहमति छ ।

० नागरिकतामा चाहिँ के अभाव छ ?
– अन्तरिम संविधानले दिएको अधिकारसमेत अहिलेको संविधानमा कटौती गरिएको छ । मैले पनि संसद्मा छुट्टै संशोधन प्रस्ताव पेस गरेकी छु । कुन विषय र किन भन्ने कुरा म अहिले खोल्दिनँ ।

० संविधानमा तराई र पहाडका जनताका लागि बेग्लाबेग्लै अधिकार छ र ?
– कुरो त्यसो होइन, हामीले पछाडि परेका वर्गलाई पनि अघि बढाउनुपर्छ । सबै ठाउँमा समानुपातिक र समावेशी हुनुपर्छ, यी कुरा संविधानले बोलिदिनुपर्छ । यो मुलुक पहाडमूलका मानिसहरूको मात्र पेवा होइन, हामी पनि यस देशका नागरिक हौं, हामीलाई पनि देशको माया छ, अगाडि बढ्ने सधैं अगाडि नै रहने, पछाडि परेका मधेसी, जनजाति, मुस्लिम र दलितलाई माथि उठ्न नदिने अन्यायपूर्ण यो संविधान हामीलाई स्वीकार्य छैन ।

० तपाईंको दल समावेशी छ त ?
– समानुपातिक र समावेशीको सवालमा म मेरो पार्टीप्रति गर्व गर्छु । जनजाति, दलित, मुस्लिम सबै हाम्रो पार्टीमा अटाएका छन् । म जस्तो बुर्का र चुलोचौकोमा सीमित भएको मान्छेलाई नीति निर्माण तहमा पु¥याएको छ । हाम्रो पार्टीको चरित्र हेरेर अरुले पनि सिक्नुपर्छ भन्ने मलाई लाग्छ ।

० पार्टीलाई चन्दा दिइयो भने सांसद बन्न पाइन्छ रे नि ?
– बुर्का लगाएर चौघेरामा सीमित हुनुपर्ने हाम्रो समुदाय हो । हाम्रो समुदायको आवाज पनि नीति निर्माण तहमा पुग्नुपर्छ भन्ने मान्यताले पार्टीले मलाई सांसद बनाएको हो । सांसद बन्न एक रुपैयाँ चन्दा दिएको छैन । यसर्थ मेरो पार्टीलाई धन्यवाद दिनैपर्छ ।

० राजनीतिमा कसरी आउनुभयो ?
– घरपरिवारको सहयोग भएन भने हाम्रो समुदायमा राजनीतिमा त के घर बाहिरसमेत निस्कन पाइँदैन । मेरा सासूससुराबाट आज्ञा लिएर श्रीमान्को सहयोगमा राजनीतिमा आएकी हुँ ।

० सासूससुराले के भनेर आज्ञा गर्नुभयो ?
– मेरो ससुरा गाउँको मुखिया पनि हुनुहुन्छ, पार्टीले यस्तो भन्दैछ, के गरु भनेर सोधेँ । उहाँले राम्रो काम गरे, आफ्नो समुदायको हकहितका लागि मेहनत गरे भनेर आशीर्वाद दिनुभयो ।

० पढेलेखेका हुनुहुन्छ ससुरा ?
– त्यस्तो धेरै पढलेख गरेका त होइनन्, तर ज्ञानी हुनुहुन्छ । मैले उहाँहरूसँग अनुमति मागेरै राजनीतिमा आएको हुँ ।

० एकैपटक सांसद बन्न कसरी सम्भव भयो ?
– म एकैपटक सांसद बनेको होइन, जिल्लामा महिला नेतृत्व गरिरहेकी थिएँ । केन्द्रमा पनि जिम्मेवार पदमा छु । जिल्ला अध्यक्ष र मेरा श्रीमान् साथी हुन् । उहाँहरूको सल्लाहअनुसार नै सांसदका लागि मलाई सिफारिस गरिएको हो ।

० मुस्लिम समुदायको वस्तुस्थिति कस्तो छ ?
– बुर्का र चार घेराबाट बाहिर निस्कन सकेका छैनन् । पछिल्लो समयमा केही सचेत हुन थालेका छन्, आत्मनिर्भरको बाटोतर्फ उन्मुख छन् ।

० तपाईंका जिल्लामा कति छन् मुस्लिम समुदाय ?
– ०६८ सालको जनगणनाअनुसार ११ लाख ६४ हजार हो । उनीहरू विकासको मूलधारबाट अलग छन् । उनीहरू शिक्षा, स्वास्थ्य र रोजगारबाट टाढा छन् । उनीहरूका लागि धेरै काम गरेको छु ।

० उल्लेख गर्न लायक के गर्नुभयो ?
– आफूले गरेको कामको आफैं व्याख्या किन गर्ने, यद्यपि मुस्लिम महिलालाई चौघेराबाट बाहिर निकाल्ने र आत्मनिर्भर बनाउनेतर्फ मैले आफ्नो क्षेत्रमा केही काम गरेजस्तो लाग्छ ।

० उनीहरूलाई माथि उठाउन के गर्नुपर्छ ?
– शिक्षा सबैभन्दा ठूलो कुरा हो, उनीहरूलाई शिक्षाको मूलधारमा समावेश गर्न पे्ररित गर्नुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगार दिन सकियो भने धेरै राम्रो हुन्छ ।

० कति पढ्नुभएको छ ?
– डिग्री हासिल गर्न सकिनँ । बालबच्चाहरू उच्च शिक्षा हासिल गर्दैछन् ।

० श्रीमान् के गर्नुहुन्छ ?
– कृषक हुनुहुन्छ, पछिल्लो समय रियलस्टेटको व्यापारमा हात हाल्नुभएको छ ।

– प्रतिभा घिमिरे