४ बैशाख २०८१, मंगलवार
Follow Us

अभिनेत्री वर्षा डिप्रेसनमा

नेपालब्रिटेन संवाददाता
३ असार २०७७, बुधबार ०४:३३

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीले नेपाली चलचित्र क्षेत्रमा हुने विभेदकै कारण आफू पनि केही समय तनाव (डिप्रेसन)को सिकार भएको बताएकी छन् । नेपाली चलचित्र उद्योगमा नातावाद (नेपोटिजम), कृपावाद, समूहवाद, गुटबन्दी फस्टाएको अभिनेत्री वर्षाको कथन छ । सबै क्षेत्रमा नातवाद, गुटवाद फस्टाएको भए पनि चलचित्र क्षेत्रमा स्पष्ट देखिन गरेको र यही नातावाद र गुटबन्दीका कारण बलिउड अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेको पनि यी अभिनेत्रीको कथन छ ।

उनले मंगलबार फेसबुकमा एक स्टाटस लेख्दै आफूले केही समयअघि यो समस्या समाजिक सञ्जालमा उठाउँदा निकै दाबाब खेप्नुपरेको बताएकी छन् । आफूजस्तै यहाँ धेरै जना हेपिएको तथा गुटबन्दीको सिकार भएको उनको ठहर छ । यस्ता विषयमा बोल्दा भोलि करिअरमै असर पर्न सक्छ भनेर धेरै जना मौन बस्न बाध्य भएको पनि अभिनेत्री वर्षा शिवाकोटीले बताएकी छन् ।

नेपाली चलचित्र उद्योगमा गुटबन्दी, नातावादको सिकार आफू भएको उनले बताएकी छन् । यस्तो नातावाद र गुटबन्दीबाट पीडित भएर आफू डिप्रेसनमा गएको पनि उनले बताएकी छन् । यस्ता गुटबन्दीको विरुद्ध आफू गत वर्ष बोल्न बाध्य भएको पनि उनले खुलाएकी छन् । आफू कति समय डिप्रेसनमा रहेको भन्नेबारे उनले खुलाउन चाहिनन् । तर, गुटबन्दीले आफू डिप्रेसनमा गएको प्रस्ट पारिन् ।

आफूले गुटबन्दीको बारे बोल्दा धेरैले अब फिल्म पाउँदैनस् भनेको तर आफूले त्यसपछि अझ धेरै फिल्म पाएको पनि अभिनेत्री वर्षाले बताएकी छन् । लकडाउन नभएको भए आफू अहिले निकै व्यस्त हुने पनि उनको कथन छ । नेपाली चलचित्र उद्योगमा हुने यस्ता नातावाद कृपावाद, गुटबन्दीविरुद्ध आवाज उठाउन उनले आफूजस्तै पीडित अरूलाई पनि आग्रह गरेकी छन् ।

नेपाली कलाकारको गुटबन्दीलाई मौलाउनमा केही युट्युब च्यानलले पनि सघाएको अभिनेत्री वर्षाको आरोप छ । यस्ता युट्युब च्यानलमा धेरै अन्तर्वार्ता आउने कलाकारहरू हिट कहलिने गरेको पनि यी अभिनेत्रीले बताएकी छन् । आजकाल कामको मूल्यांकनभन्दा पनि फेसबुक, ट्वीटर, इन्स्टाको फलोअर्स हेरेर हाम्रा कलाकारको मूल्यांकन गर्न थालिएको पनि यी अभिनेत्रीले सामाजिक सञ्जालमार्फत बताएकी छन् । कलाकारका सन्तानहरूलाई त अर्कै रूपमा हेर्ने गरिएको पनि उनको कथन छ ।

नातावाद, कृपावाद र गुटबन्दीले कहिलेसम्म नेपाली चलचित्र उद्योग धान्ने भन्दै यसको मूल्यांकन अब दर्शकले गर्नुपर्ने बताएकी छन् । यस्ता जेजे भए पनि आफूले निरन्तर मिहिनेत गर्न छाडेन भने एक दिन अवश्य सफल पाइने पनि अभिनेत्री वर्षा शिवाकोटीले बताएकी छन् ।
– राजधानी डेलीबाट