१५ चैत्र २०८०, बिहीबार
Follow Us

अब पालो प्रिमियर लिगको

नेपालब्रिटेन संवाददाता
३ असार २०७७, बुधबार ०४:३६

लन्डन । कोरोना महामारीको त्रासपछि झन्डै तीन महिनापछि विश्वमा खेलकुद गतिविधि बिस्तारै चलायमान हँुदै छ । विश्वमा सर्वाधिक रुचाइने फुटबलको चर्चित घरेलु लिगहरू सुचारु भइसकेका छन् । मेबाट जर्मन बुन्डेस लिगा सुरु भइसकेको छ । अघिल्लो साताबाट स्पेनिस ला लिगा सुरु भइसकेको छ । कोरोनाको हब बनेको इटालीमा पनि फुटबल फर्किसकेको छ । तर, इटालियन सिरी ‘ए’ २० जुनदेखि सुरु हँुदै छ ।

अब फुटबल गतिविधि सुरु हुने पालो इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिगको रहेको छ । कोरोना महामारीले गर्दा तीन महिना रोकिएको विश्वकै चर्चित फुटबल लिग प्रिमियर लिग बुधबारदेखि पुनः फेरि सुरु हुँदै छ । १० मार्चमा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–० ले हराएयता प्रिमियर लिग स्थगित छ । पहिलो दिन एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीचको प्रतिस्पर्धाबाट प्रिमियर लिग पुनः सुचारु हुनेछ । ३० वर्षपछि लिभरपुललाई इंग्ल्यान्डको च्याम्पियन बन्नबाट रोक्ने सम्भावना छैन । तर, लिगमा अरू विभिन्न पक्षहरू युरोपमा अर्को सिजन खेल्ने, रेलिगेसनमा पर्ने, बन्द रंगशालमा खल्नलगायत विषय छन् ।

लिभरपुल कहिले च्याम्पियन बन्छ ?
मार्चमा लिग स्थगित हुनुअघि लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले अघि थियो । सन् १९९० पछि लिभरपुल पहिलोपटक च्याम्पियन बन्ने संघारमा छ । लिभरपुलाई च्याम्पियन बन्न दुई जितको खाँचो थियो । तर, कोभिड–१९ ले गर्दा लिभरपुलको उपाधि उत्सवलाई ढिला गरिदियो । यस्तो होला भनेर कसैले पनि सोचेका थिएनन् । दुई जितले पनि लिभरपुललाई च्याम्पियन बनाउन सक्छ र दोस्रो स्थानको सिटीले गणितीय रूपमा पनि भेट्ने सम्भावना निकै कम छ ।

बुधबार सिटी आर्सनलसँग पराजित भएको अवस्थामा मर्सिसाइड टिमले आफ्नो पहिलो खेलमा एभर्टनलाई पराजित गरे पहिलो खेलबाटै लिभरपुलले उपाधि जित्न सक्नेछ । युर्गेन क्लोपको टिमले सिटीको कीर्तिमानसमेत तोड्ने सम्भावना छ । लिभरपुलले अब सम्भावित २७ मध्ये १९ अंक जोडेमा सिटीको २०१७-१८ मा जोडेको १०० अंकको कीर्तिमान तोड्नेछ । यस्तै त्यही सिजन सिटीले १९ अंक अन्तरमा उपाधि जितेको थियो लिभरपुलले त्यो पनि तोड्ने सम्भावना छ ।

लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले गत वर्ष जुनमा मड्रिडमा खचाखच दर्शकका सामु च्याम्पियन्स लिग ट्रफी उठाउका थिए तर यसपटक दर्शक बिनै ट्रफी उठाउने तयारीमा छन् । हेन्डरसनले दर्शक बिना ट्रफी उठाउनु परे अनौठो हुने बताएका छन् ।

च्याम्पियन्स लिग होड
यसपटक प्रिमियर लिगमा लिभरपुलले एकपक्षीय अग्रता बनाउँदै अर्काे सिजनका लागि यात्रा तय गर्दा च्याम्पियन्स लिगमा प्रिमियर लिगबाट बाँकी तीन कोटाका लागि तीब्र प्रतिस्पर्धा छ । म्यानचेस्टर सिटी, लेस्टर र चेल्सी शीर्ष चारमा छन् । तर, फाइनान्सियल फेयर प्लेको नियम उल्लंघन गरेको आरोपमा सिटीले आगामी दुई वर्ष युरोपपियन क्लब प्रतियोगितामा भाग लिन नपाउने सम्भावना छ । पेप ग्वार्डिओलाको टिमले यस विषयमा अपिल गरिसकेको छ । निलम्बन खारेज भयो भने सिटीले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन सक्छ । यदि निलम्बन कायम रहेमा पाँचौं स्थानमा रहेको टोली अर्को सिजनको च्याम्पियन्स लिगलाई छनोट हुनेछ । यो स्थानमा हाल म्यानचेस्टर युनाइटेड रहेका छन् । वल्भ्स र सेफिल्ड युनाइटेड म्यानचेस्टरभन्दा २ अंकले मात्रै पछि छ । आठौं स्थानको टोटेनहम र नवौं स्थानको आर्सनलको पनि पाँचौं स्थानमा आउने सम्भावना जीवित छ ।

रेलिगेसनबाट बच्न संघर्ष
नर्विच सिटी, एस्टन भिल्ला र बर्नमाउथ यो सिजनको प्रिमियर लिगको रेलिगेसन जोनमा छन् । तर, पछिल्लो केही खेलको नतिजाले यी तीनै टोली रेलिगेसनबाट बच्ने आशा गरेका छन् । पुछारमा रहेको नर्विच रेलिगेसनबाट सुरक्षित रहन ६ अंकले पछि छ । घरेलु मैदानमा फेब्रुअरीमा बलियो लेस्टर सिटीविरुद्धको जितले उनीहरूको आशा जगाएको छ । तर, रेलिगेसन जोनकै सेफिल्डसँग पराजित हुन पुगेको छ ।

एस्टल भिल्लाले लिग रोकिनुअघि लगातार चार खेल हारेको थियो । यो ब्रेकले डीन स्मिथको टिमलाई फाइदा गर्ने आशा छ । भिल्लाले एक खेल कम खेलेको छ । यस्तै, १० मध्ये ७ खेल हारेको बर्नमाउथ यो विश्राममा आफ्नो फर्म फर्काउने लक्ष्यमा छ । यी तीन टोलीसँगै वाटफोर्ड, वेस्टह्याम र ब्राइटन होभ अल्वियोन पनि खतरामा छन् ।

खेल्नका लागि फिट
खेलाडीहरू झन्डै ९६ दिनपछि ठूला प्रतियोगितामा होमिदै छन् । तर, एक महिनाअघि देखिको नियमित प्रशिक्षण र केही अभ्यास खेलले उनीहरू आफ्नो पुरानो लयमा फर्किसकेको अनुमान गर्न सकिन्छ । टोटेनहमका चोटग्रस्त ह्यारी केन, ह्युङ मिन सन मैदान फर्कन आतुर छन् । म्यानचेस्टर युनाइटेडका जोडी पउल पोग्बा र मार्कुस रासफोर्ड पनि मैदान फर्कन तयार छन् । दुवै खेलाडी चोटका कारण जनवरीयता मैदानबाहिर छन् ।
– राजधानी डेलीबाट