८ बैशाख २०८१, शनिबार
Follow Us

संघीय फोरम र नयाँ शक्ति एक हुने

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७३, बुधबार १२:२१

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीबीच एकता प्रयास शुरु भएको छ ।
अध्यक्ष यादव र संयोजक डा. भट्टराईले पार्टीको बैचारिक, राजनीतिक र सांगठनिक बिषयलाई एकरुपता दिन दुबै पार्टीका दोस्रो तहका नेता खटेका छन् । संघीय फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठ तथा नयाँ शक्तिका गंगानारायण श्रेष्ठ, खिमलाल देवकोटा र रामकुमार शर्मा पार्टी एकताका लागि काम गरिरहेका छन् ।
शुरुमा रामकुमार शर्मा र राजेन्द्र श्रेष्ठले पार्टी एकताका लागि कसरत गरेका थिए । त्यसमा दुवै दलका अध्यक्ष सैद्धान्तिक रुपमा सहमत भएपछि अरु बिषयमा शुरु भएको हो ।
पार्टी एकताको प्रक्रिया अघि बढिरहदा दुवै पार्टी प्रमुखले संविधान संशोधनका बारे सयुक्त बक्तब्य दिएर सम्भावित पार्टी एकताको संकेत दिइसकेका छन् । तर यसलाई कार्यंगत एकताका रुपमा मात्र पार्टी पंक्तिमा व्याख्या गरिएको छ ।
सरकारले संविधान संसोधनको प्रस्ताव संसदमा पेश गर्दै गर्दा मंसीर १२ गते साँझ संयुक्त बक्तव्य दिने बारेमा दुवै अध्यक्ष बीच टेलिफोन वार्ता भएको थियो । त्यसपछि भट्टराईले संविधान संशोधनमा राख्नु पर्ने बिषयहरु उल्लेख गरेर गंगानारायण श्रेष्ठ र खिमलाल देवकोटालाई तीनकुनेस्थित संघीय फोरमको कार्यालयमा पठाएका थिए । यादवले भट्टराईको पत्र (प्रेस बिज्ञप्ति) लाई सामान्य संशोधन गरेर हस्ताक्षर गरिदिए । तर, राति भइसकेका कारण १२ गते सो  बिज्ञप्ति बाहिर आएन, १३ गते बिहान भट्टराईले हस्ताक्षर गरेर नयाँ शक्तिको इमेल र ट्वीटबाट सो विज्ञप्ति सार्वजनिक गरिदिएका हुन् ।
त्यस यता संघीय फोरम र नयाँ शक्तिबीच बाक्लै विचार आदान प्रदान भइरहेको खबर छ । यी दुवै ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’को पक्षधर पार्टी हुन,् जसले जातीय संघीयतालाई पनि आत्मसात गरेका छन् । यी दुई अजेन्डामा समान धारणा बोकेका यी दुई दलले संविधान संशोधनका बारे समान धारणा राख्नु त्यति धेरै अस्वाभाविक मानिएको छैन ।
यसैगरी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध सात मध्ये दुई दल उपेन्द्रको पक्षमा उभिदैँ आएका छन । शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सदभावना पार्टी यादव निकट छन् । संघीय फोरम र नयाँ शक्तिबीच एकता भए पनि, नभए पनि, यी दुई पार्टी यादव नेतृत्वको फोरमसँग एकता प्रक्रियामा जाने बारे लगभग निश्चित भएको समाचार स्रोतको दावी छ ।   
तरुणको सहयोगमा