१३ बैशाख २०८१, बिहीबार
Follow Us

बार्सिलोना र मेस्सीको लय

नेपालब्रिटेन संवाददाता
४ असार २०७७, बिहीबार ०३:५९

क्याटलान । क्याटलान क्लब बार्सिलोनाले कोरोनापछि सुरु भएको स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा बलियो पकड बनाएको छ । घरेलु मैदानमा कप्तान लियोनेल मेस्सीको उच्च प्रदर्शन प्रेरित खेलमा बार्सिलोनाले लेगानेसमाथि २–० को जित निकाल्दै शीर्षस्थानमा रियल मड्रिडविरुद्ध ५ अंकको अग्रता बनाएको हो । नोउक्याम्पमा बार्सिलोनाको जितमा मेस्सीसँगै युवा स्टार अन्सु फातीले गोल गरे ।

घरेलु टोलीविरुद्ध सुरुवातमा मिगुएल एन्जल गुरेरोले २ मिनेटको अन्तरमा २ अवसर सदुपयोग गर्न नसक्दा पाहुना टोली लेगानेसले अग्रता लिनबाट चुकेको थियो । १२औं मिनेटमा गुरेरोको प्रहारलाई क्लेमेन्ट लेङलेटले गोललाइनबाट क्लियर गरेका थिए । पेनाल्टी क्षेत्रभित्र लगातार तीन अवसर पाएको लेगानेसले अन्त्यमा गोलरक्षकलाई बिट गरे पनि गोल हुन भने सकेन । त्यसको दुई मिनेटमा नै गुरेरोको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । सुरुवातमा दबाब झेलेको बार्सिलोनाले बिस्तारै खेलमा लय समात्दै ४१औं मिनेटमा बार्सिलोनाले अन्सु फातीको गोलमा अग्रता लिन सफल भयो । जुनियर फिर्पोको पासलाई पेनाल्टी क्षेत्रको ठीकभित्र रहेका फातीले उत्कृष्ट फिनिस गरे ।

४४औं मिनेटमा सर्जी रोबर्टोको क्रसमा मेस्सीको हेडरले पोस्टको दिशा लिन सकेन । ६४औं मिनेटमा एन्टोइन ग्रिजमनले नेल्सन सेमेडोको क्रसमा गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहायता लिँदै गोललाई मान्यता दिएनन् । त्यसको ४ मिनेटपछि नै बार्सिलोनाले अग्रता दोब्बर बनायो । लेगानेसका डिफेन्डरले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले दिएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गरेका थिए । ला लिगामा मेस्सीको यो २१औं गोल हो । ८७औं मिनेटमा आर्टुरो भिडालको थ्रु पासमा रिकी पुजले पेनाल्टी क्षेत्रबाट गरेको प्रहारलाई गोलरक्षक क्वेलारले बचाए ।

त्यसै बचाउपछिको कर्नरमा आएको रिबाउन्डमा पुजको प्रहार पुनः गोलरक्षकले विफल पारे । लगत्तै अर्कोतर्फ बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले पनि केभिनको फ्रिकिकमा उत्कृष्ट बचाउ गरे । इन्ज्युरी समयमा लुइस सुआरेजले बललाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रण गर्न नसक्दा बार्सिलोनाले अग्रता लिने अवसर गुमायो ।

लगत्तै रेफ्रीले बेन्चमा अभद्र व्यवहार देखाएको भन्दै लेगानेसका प्रशिक्षक जाभिएर अगिर्रेलाई रातो कार्ड देखाए । जितसँगै बार्सिलोनाको २९ खेलबाट ६४ अंक पुगेको छ । दोस्रो स्थानको रियलको २८ खेलमा ५९ अंक छ । लेगानेस २३ अंक जोड्दै अंक तालिकाको पुछारमा यथावत् छ । ला लिगाको अर्काे खेलमा भिल्लारियलले रियल मालोर्कामाथि १–० को जित निकाल्दा गेटाफे र स्पान्योले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
राजधानी डेलीबाट