१५ बैशाख २०८१, शनिबार
Follow Us

राखेपको लगानीमा ११ खेल पूर्वाधार निमार्ण

sarusaru
४ असार २०७७, बिहीबार ०९:१०

पोखरा– पोखरा र आसपासमा यतिबेला खेल पूर्वाधार निमार्ण धमाधम भएका छन् । खेल क्षेत्रको विकासको लागि पहिलो खुड्किलो भनेकै पूर्वाधार हुनु नै हो । पोखरा र आसपासको क्षेत्रमा यसरी खेल पूर्वाधारको विकास हुन सुखद पक्ष हो । पूर्वाधार बने मैदानको अभाव हट्छ, खेलाडी खुसी हुन्छन् । पछिल्लो समय पोखरालगायत आसपास भएको विकासले पोखराको खेल गतिविधिलाई चलायमान बनाउने आशा देखिएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले पोखरा र आसपासको क्षेत्रमा आर्थिक वर्ष ०७६÷०७७ भित्र ठुला योजना बाहेक ११ खेल पूर्वाधार निमार्ण कार्य अघि बढाएको छ ।
परिषद्ले पोखरा रंगशाला भित्रमात्रै ६ पूर्वाधारका योजना अघि बढायो । ५० लाख रुपैँयाको लगानीमा ह्याण्डबल एकेडेमी निमार्ण भएको छ । त्यस्तै ५० लाखकै लगानीमा ब्याड्मिन्टन कभर्डहल निमार्ण सम्पन्न गरेको छ । उता स्विमिङ्ग पुल निमार्णको लागि २ करोड ३० लाख बजेट विनियोजन गरेको छ । यसको डिपिआर तयार भएको छ । रंगशालाभित्रै क्रिकेट मैदान निमार्णको लागि आवश्यक प्रक्रिया अघि बढिसकेको छ । ३ करोडको लगानीमा प्यारापिट सहितको मैदानको लागि तयारी भइरहेको छ । सुटिङको लागि ५० लाख छुट्टिएको छ । तर प्रतिवेदन समेत तयार भइनसकेकाले रकम भने फ्रिज हुने देखिएको छ । बहुउदेश्यीय कर्भडहलको लागि ५ करोड रुपैँया विनियोजन भएको छ ।
परिषदकै लगानीमा पोखरा–१९ लामाचौरस्थित गोस्ते खेल मैदान निर्माण गरेको छ । त्यसलाई बैकल्पिक फुटबल मैदानको रुपमा विकास गरिएको छ । भिआईपी प्यारापिटसहितको चेन्जिङ रुम केही दिन अघिमात्रै ढलान गरिएको छ । दर्शकको लागि प्यारपिट समेत बनाइएको छ । परिषदले त्यस मैदानको लागि २ करोड ८० लाख रुपैयाँ खर्चिएको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको दौरानमा महिला फुटबलको लागि वैकल्पिक फुटबल मैदानको रुपमा पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानको स्तरोन्नति गरिएको छ । मापदण्ड अनुसार स्तरोन्नति गरिएको मैदानको लागि परिषदले १ करोड ६२ लाख रुपैयाँ खर्चिएको छ । त्यो बाहेक परिषद्ले पोखरा १९ मा जेष्ठनागरिक बहुउदेश्यीय कभर्डहल निमार्णको लागि आर्थिक वर्ष ०७६÷०७७ मा रु. १ करोड, पाखेरा २३ बाम्दीमा भलिबल खेलमैदान निमार्णको लागि ५० लाख र हाइअल्टिच्युट खेल मैदानको लागि ५० लाख बिनियोजन गरेको छ । कार्यालय प्रमुख योगीले कतिपय काम सम्पन्न भएको र कतिपय काम सुरु भएको बताए ।